फेब्रुअरी ५ अर्थात् आज विश्व फुटबलको दुई सुपर स्टार क्रिस्टियानो रोनाल्डो र नेमारको जन्मदिन हो। रोनाल्डो सन् १९८५ र नेमार सन् १९९२मा आज कै दिन जन्म भएको थियो।
साउदी क्लब अल नासरमा व्यसायिक फुटबल खेलिरहेका पोर्चुगिज सुपरस्टार रोनालडो ३८ वर्ष लागेका छन् भने फ्रेन्च क्लब पिएजीका ब्राजिलियन सुपर स्टार नेमार ३१ वर्ष लागेका छन्।
रोनाल्डोले स्पोर्टिङ क्लबबाट आफ्नो फुटबल करिअर सुरु गरेका हुन् । त्यसपछि उनले सन् २००३ मा म्यानचेस्टर युनाइटेडबाट खेल्न थाले । सन् २००९ देखि भने उनले रियल म्याड्रिड क्लबबाट खेल्न थालेका थिए । २०१८ बाट युभेन्ट्सका लागि खेल्न थालेका रोनाल्डो तीन वर्षपछि म्यानचेस्टर युनाइटेड पुगेका थिए ।

व्यावसायिक फुटबल खेल्ने क्रममा ३७ वर्षीय रोनाल्डोले हालसम्म पाँच पटक बालन डी’अर र चार पटक युरोपेली गोल्डेन बुट जितिसकेका छन् । उनी सात लिग टाइटल, पाँच यूईएफए च्याम्पियन्स लिग, यूईएफए युरोपियन च्याम्पियनसिप र यूईएफए नेसन्स लिगसहित जीवनमा ३४ वटा ट्रफी विजेतासमेत हुन् ।
रोनाल्डोले हालसम्म ११ सयभन्दा बढी व्यावसायिक फुटबल खेलिसकेका छन् । उनले च्याम्पियन्स लिगका १ सय ८३ खेलमा १ सय ४० गोल र ४२ असिस्ट गरिसकेका छन् ।

पोर्चुगलको राष्ट्रिय टिमबाट भने उनले १८ वर्षको उमेरमा २००३ मा खेल्न थालेका थिए । देशका लागि १ सय ९० खेल खेलेका उनले एक सयभन्दा बढी गोल गरिसकेका छन् । २०१५ मा उनी पोर्चुगिज फुटबल फेडेरेसनबाट सर्वकालीन महान् खेलाडी घोषित भएका थिए । त्यसको अर्को वर्ष पोर्चुगलले युरो कपको उपाधि हात पारेको थियो ।
ब्राजिलियन क्लब सान्तोषका उत्दान नेमारले सन् २००९मा सान्तोषको सिनियर टिममा डेब्यू गरेका थिए । सान्तोषमा ५ सिजन बिताउँदै नेमारले २२५ खेलमा १३६ गोल गरेका छन्। त्यहाँ उनले ६ उपाधि जितेका थिए।
सन् २०१३ मा उनी ५७ मिनिलियन युरोमा स्पेनिस क्लब बार्सिलनामा आबद्ध भए । बार्सिलोनामा ४ सिजन बिताउँदा नेमारले १८६ खेलमा १०५ गोल गरेका थिए। नेमार बार्सिलोनाम रहँदा मेसी र सुआरेजसँग उनको जोडी खुबै मिल्थ्यो। त्यो बेलका बार्साका अट्याकिङ ‘एमएनएस’ खुबै चर्चित थियो। त्यहाँ नेमारले २ ला लिगा र च्याम्पियन्स लिगसहित कुल ८ उपाधि जितेका छन्।

मेसीको छायाँमा परेको महसुस गरेपछि नेमारले सन् २०१७ बार्सिलोना छाडे । उनी कीर्तिमानी २२२ मिलियन युरोमा पिएसजी गए। त्यसयता पिएसजीमै रहेका नेमारले त्यहाँ १६९ खेलमा ११७ ेगोल गरेका छन्। पिएसजीमा उनले कुल १२ उपाधि जितेका छन्।
ब्राजिलका लागि सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान बरारबी गरेका नेमारले सन् २०१०मा राष्ट्रिय टिममा डेब्यू गरेका थिए। त्यसयता उनले १२४ खेल खेल्दै ७७ गोल गरेका छन्।