इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आइतबार घरेलु मैदानमा लिभरपुलको हातबाट ५–० को पीडादायी हार बेहोरेपछि थरीथरीका हल्ला चल्न सुरु भइसकेको छ ।
त्यसमध्ये एक हो, ओले गनर सोल्सायर म्यानचेस्टरको व्यवस्थापकीय जिम्मेवारीबाट बर्खास्तगीमा पर्नेछन्। अनि उनको स्थानमा को आउने छन् त ? त्यसबारे पनि विभिन्न अड्कलबाजी सुरु भइसकेको छ । क्लब आफैंबाट भने केही तथ्य बाहिर आएको छैन ।
सोल्सायरले क्लब सम्हालेको तीन वर्ष भइसकेको छ । अब घरेलु लिगमा म्यानचेस्टरले टोटेनहमको भ्रमण गर्नेछ । अनि युरोपेली च्याम्पियन्स लिगमा एटलान्टाको सामना गर्नेछ । त्यसपछि ओल्ड ट्राफोर्डमा आउनेछ म्यानचेस्टर सिटी । त्यसअगाडि यी नर्वेली फुटबल व्यवस्थापकले केही न केही टिममा परिवर्तन ल्याउन आवश्यक हुनेछ । सोल्सायर नेतृत्वमा म्यानचेस्टरले सिटी र पेरिस सेन्ट जर्मेन जस्ता टिममाथि स्वादिला जित हात पारेको छ ।
उनको खास रणनीति ‘काउन्टर’ आक्रमणमा यी जित सम्भव भएका हुन् । फेरि तिनै प्रकारका जित प्राप्तिका लागि प्रयास गर्ने हो भने टिमलाई चाहिनेछ, मार्कस रसफोर्ड, मेसन ग्रिनउड र जाडोन सान्चो । तर, गाह्रो त्यतिबेला हुनेछ, जतिबेला टिमले यही रणनीति अपनाउने प्रयास गर्नेछ । तर टिममा ३६ वर्षीय क्रिस्टियानो रोनाल्डो हुनेछन् अनि रोनाल्डोलाई लिएर समस्या के हो भने उनी पहिला जस्तो तीव्र गतिमा खेल्न सक्ने खेलाडी रहेनन् ।
बरु, उनको स्थानमा एडिसन काभानी उपयुक्त हुन सक्छन् । यो स्थितिमा पोर्चुगाली स्टार रोनाल्डोले ‘सुपर सव’ को भूमिका निभाउन सक्छन् । खेलको अन्त्यतिर रोनाल्डोलाई मैदानमा उतार्ने अनि उनकै तर्फबाट विजयी गोल निकाल्ने ।
यस्तो स्थितिमा के सोल्सायर आफ्ना स्टार खेलाडीलाई बेञ्चमा राख्न तयार हुन्छन् त रु ठ्याक्कै भन्दा उनी के रोनाल्डोलाई ‘ड्रप’ गर्न सक्छन् त रु दुई महिनाअगाडि मात्र क्लबका आएका रोनाल्डोलाई ‘ड्रप’ गर्नु एउटा उपाय हुन सक्नेछ ।
कान्तिपुरबाट