साउदी क्लब अल ताइका प्रशिक्षक भन्छन्– रोनाल्डोलाई भेटेपछि आफूलाई भाग्यमानी ठानेँ

पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोको आगमन पछि साउदी प्रो लिगको चर्चा अहिले विश्वभर हुन थालेको छ। साउदी क्लब अल नासरले रोनाल्डोलाई कीर्तिमानी वार्षिक १७५ मिलियन पाउण्ड पाउने गरी २ वर्षका लागि अनुबन्धन गरेको छ।

अघिल्लो साता साउदी पुगेर रोनाल्डोले प्रशिक्षण पनि थालिसकेका छन्। इंग्लिस फुटबल एसोसिएनको प्रतिबन्धमा रहेकाले रोनाल्डोले साउदी प्रो लिगमा अर्को सातामात्र डेब्यू गर्नेछन्।

रोनाल्डोको टिम अल नासरले शुक्रबार प्रो लिगमा अल ताइसँग खेल्यो । अल नासरले २–०ले जितेको खेल रोनाल्डोले भिआईपी बक्सबाट हेरेका थिए।

सोही खेलका क्रममा अल ताइका पोर्चुगिज प्रशिक्षक पेपाले रोनाल्डोसँग भेट गरेका छन्। रोनाल्डोसँगको भेटपछि पेपाले आफूलाई भाग्यमानी ठानेको बताएका छन् । रोनाल्डोले फुबटलका वास्तविक लेजेन्ड भएको पेपाको भनाई छ।

‘रोनाल्डोलाई भेटेपछि आफूलाई भाग्यमानी महसुस गरिरहेको छु, उनी सर्वोत्कृष्ट हुन्, त्यो मैदानमा देखाइरहन पर्दैन,’ अल ताइका ४१ वर्षीय प्रशिक्षक पेपाले भनेका छन्, ‘उनको दयालु, मिलनसार र रमाईलो व्यक्तित्वले मलाई साँच्चै प्रभावित गर्यो। उनी फुटलबको सच्चा लेजेन्ड हुन्।’

उनी यसै सिजन अल ताइको मुख्य प्रशिक्षक बनेका हुन्। १२ खेलमा १८ अंक जोडेको अल ताइ प्रो लिगको सातौं स्थानमा छ।