क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टस छाड्ने लगभग पक्का भएको छ। उनले युभेन्टसका आफ्ना टिममेटहरुसँग क्लब छाड्न चाहेको बताउँदै विदा समेत मागेका छन्।
युरोपियन ट्रान्सफर मार्केको भरपर्दो अपडेट दिने पत्रकार फाब्रिजियो रोमानोले ट्विटरमार्फत् रोनाल्डोले युभेन्टसका खेलाडीसँग विदा मागेका बताएका थिए। केही समय पहिले युभेन्टसमै बस्ने मनसाय देखाएका रोनाल्डा पछिल्लो समय भने इटाली छाड्ने निष्कर्षमा पुगेका छन्।
रोनाल्डो विश्वमा सर्वाधिक तलब लिने खेलाडीमध्येमा पर्दछन्। त्यसैले उनलाई अनुबन्ध गर्न केही सिमित क्लबहरुको मात्र हैसियत पुग्छ। उनलाई अनुबन्ध गरेर तलब दिनसक्ने क्षमता भएका केही क्लबहरुमा म्यानचेस्टर सिटी, पिएसजी, रियल मड्रिड, चेल्सी, म्यानचेस्टर सिटीलगायत मात्र छन्।
यसैबीच उनी म्यानचेस्टर सिटी जान लागेको चर्चाले अहिले ट्रान्सफर मार्केट तातेको छ। सिटीको कट्टर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडका लेजेन्ड खेलाडी रोनाल्डोले सिटीमा जाने खबरले अहिले सामाजिक सञ्जालमा ठूलै हलचल मच्चाएको छ।
फाब्रिजियो रोमानोका अनुसार अहिलेसम्म सिटीले भने रोनाल्डो अनुबन्ध गर्नका लागि युभेन्टस सामू आधिकारिक प्रस्ताव पेश गरेको छैन। आज रोनाल्डोका एजेन्ट जोर्जे मेन्डेस र सिटीबीच प्रारम्भिक छलफल हुने कार्यक्रम रहेको छ। रोनाल्डोका एजेन्टसँग तलबका विषयमा सहमति भएपछि रोनाल्डोलाई अनुबन्ध गर्न आधिकारिक प्रस्ताव पेश गर्ने सिटीको योजना छ।
सिटीको लेजेन्डरी स्ट्राइकर तथा सर्वाधिक गोलकर्ता सर्जियो अगुएरो गत सिजनको समाप्तीसँगै बार्सिलोना गएपछि सिटी भरपर्दो फरवार्डको खोजीमा थियो। र, रोनाल्डोलाई अनुबन्ध गर्न सक्ने सिमित क्लबमध्येमा पर्ने भएकाले सिटीले जारी ट्रान्सफर विन्डो सकिनु अगावै उनलाई क्लबमा स्वागत गर्ने सम्भावना ह्वात्तै बढेको छ।