पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दमा इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ। शनिबार राति भएको खेलमा रोनाल्डोले ह्याट्रिक गरेपछि युनाइटेडले नर्विच सिटीमाथि ३–२को संघर्षपूर्ण जित निकाल्यो।
सातौं मिनेटमा रोनाल्डोको गोलमा युनाइटेडले खेलमा सुरुआती अग्रता लियो। उनले एन्थोनी इलांगाको पासमा गोल गरेका थिए। ३२औं मिनेटमा एलेक्स टेलेसको पासमा रोनाल्डोले नै युनाइटेडको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको इन्जुरी समयमा केइरन डोवेलले गोल गर्दै नर्विचलाई खेलमा फर्काउने प्रयास गरे। ५२औं मिनेटमा टिमु पुकीले गोल गर्दै खेलालाई २–२ को बराबरीमा ल्याए ।
७६औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने टिमलाई ३–२ को जित दिलाए। यो रोनाल्डोको करिअरको ५८औं फ्रिकिक गोल हो । यता, रोनाल्डकोको यो करिअरको ६०औं ह्याट्रिक हो भने क्लब फुटबलको ५०औं ह्याट्रिक हो।
जितसँगै युनाइटेडले ३२ खेलमा ५४ अंकसहित पाँचौं स्थानमा छ । यता, नर्विच २१ अंक जोडेर पुछारमा छ ।