पोर्चुगिच स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि डिफेन्डिङ च्याम्पियन युभेन्ट्स हारबाट जोगिएको छ । शनिबार राति भएको खेलमा रोनाल्डोले २ गोल मद्दतमा युभेन्ट्सले एएस रोमासँग २–२ गोलको बराबरी खेलेको हो ।
खेलमा युभेन्ट्सका लागि रोनाल्डोले दुवै गोल गर्दा रोमाका लागि जोर्डन भेरेटोउटले दुवै गोल गरे । घरेलु मैदानमा अग्रता पनि अग्रता पनि रोमाले नै लियो । ३१औं मिनेटमा भेरेटोउटले पेनाल्टीमा गोल गरेका थिए । एन्ड्रिन राबिओटले डिबक्समा ह्यान्ड गरेपछि रोमाले पोनाल्टी पाएको थियो ।
४४औं मिनेटमा युभेन्ट्सले पनि पेनाल्टी पायो । सो अवसरलाई रोनाल्डोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । रोमाका लोरन्जो पेलेग्रिनीले डिबक्समा ह्यान्ड गरेपछि युभेन्ट्सले पेनाल्टी पाएको थियो ।
पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा भेरेटेउटले हेनेरिख मिखिटार्यनको पासमा गोल गर्दै पुनः रोमालाई अग्रता दिलाए । पहिलो हाफ २–१ मै सकिएको थियो ।
६२औं मिनेटमा राबिओट दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युभेन्ट्स १० खेलाडीमा सीमित बनेको थियो । तर, त्यसको फाइलन रोमाले उठाउन सकेन । ६९औं मिनेटमा डानिलोको पासमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि गोल नहुँदा खेल बराबरीमै सकियो।