जनवरी १९मा हुने फ्रेन्च क्लब पिएसजीविरुद्धको मैत्रीपूर्ण खेलमा रियाद एफसीको कप्तानी पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोले गर्ने भएका छन्।
विन्टर ट्रान्सफर विन्डाेमा रोनल्डो साउदी क्लब अल नासरमा आबद्ध भएसँगै उनले पिएसजीविरुद्ध कप्तानी गर्ने मौका पाएका हुन्।
करिब ३ साताअघि अल नासारमा आबद्ध भएपनि रोनाल्डोले अहिलेसम्म डेब्यू गरेका छैनन्। साउदीमा रोनाल्डोको पहिलो खेल यही हुनेछ।
रियाद एफसीमा रियादका दुई क्लब अल नासर र अल हिलालका खेलाडीहरु समावेश हुनेछन्। पिएसजीले लियोनल मेसी, नेमार, एम्बाप्पेसहितको फुल टिमनै खेलाउने छ।

यही खेल मार्फत रोनाल्डो र मेसी २ वर्षपछि आपसमा भिड्नेछन्। सन् २०२० पछि रोनाल्डो र मेसी आमनेसामने हुन लागेका हुन्।
सन् २०२०मा च्याम्पियन्स लिगमा रोनाल्डोले इटालियन क्लब युभेन्ट्स र मेसी स्पेनिस क्लब बार्सिालोनाबाट खेलेका थिए। रोनाल्डोले २ गोल गरेको खेल युभेन्ट्सले ३–०ले जितेको थियो।