°
, May 29, 2023 in

‘रोनाल्डो १८ महिनाभित्र म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बन्नेछन्’

SHARE:

क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रशिक्षक बन्ने लक्षण बारम्बार देखाउँदै आएका छन्। २०१६ को युरोकप फाइनलमा चोटग्रस्त भएपछि उनले पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषसँगै टचलाइनमा उभिएर खेलाडीहरुलाई सिकाइरहेका थिए। गत साता म्यानचेस्टर युनाइटेड र योङ ब्वाइजबीचको च्याम्पियन्स लिग भिडन्तमा पनि उनी प्रशिक्षकसँगै टचलाइनमा थिए।

यसैबीच रोनाल्डो अब म्यानचेस्टर युनाइटेडकै प्रशिक्षक बन्नसक्ने चर्चा हुन थालेको छ। टोटनहमका पूर्वप्रशिक्षक टिम शेरवुडले त अबको १८ महिनाभित्रै रोनाल्डो युनाइटेडको म्यानेजर बन्ने बताए।

क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किएसँगै युनाइटेडका समर्थकहरुमा नयाँ आशा पलाएको छ। केही सिजनयता राम्रो प्रदर्शन गरिरहे पनि युनाइटेडले ट्रफी नजितेको ५ वर्ष भइसकेको छ। जसकारण वर्तमान म्यानेजर ओले गनर सोल्सेयर अहिले ठूलो दबाबमा छन्।

उनले युनाइटेडको जिम्मेवारी सम्हालेदेखि एउटा पनि उपाधि जिताउन सकेका छैनन्। ट्रान्सफर मार्केटमा भने ठूलै खर्च गरिरहेका सोल्सेयरले यसै सिजन रोनाल्डोसहित जेडन सान्चो र रफाएल भराने भित्र्याउन १०० मिलियन पाउन्डभन्दा बढी खर्च गरे।

‘मलाई लाग्छ अबको १८ भित्रमा हामीले रोनाल्डोलाई युनाइटेडको म्यानेजरका रुपमा देख्न पाउँछौं,’ शेरवुडले भनेका छन्, ‘रोनाल्डोले सोल्सेयरलाई प्रतिस्थापन गर्नेछन्।’

१२ वर्षअघि युनाइटेड छाडेका रोनाल्डो र अहिले फर्किएका रोनाल्डो फरक हुन्। सोल्सेयरले युनाइटेड फर्काएका रोनाल्डोले उनैलाई ओल्ड ट्राफोर्डबाट प्रतिस्थापन गर्ने क्षमता राख्छन्।

रोनाल्डोलाई थाहा छ खेलमा कहाँ कतिबेला उनको आवश्यकता पर्छ। मैदानमा छैनन् भने उनी टचलाइनबाट पनि त्यो भूमिका निर्वाह गर्न पछि पर्दैनन्। सोल्सेयरले रोनाल्डोलाई टचलाइनमा नबस भन्न नसक्ने र नमिल्ने पनि शेरवुडले बताएका छन्।

‘रोनाल्डोले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरुलाई निर्देशन दिएको देखेका छौं। च्याम्पियन्स लिगमा निर्देशन दिएको देखेका छौं। टिमको नेतृत्व गर्न उनलाई क्याप्टेनको आर्मब्यान्ड चाहिँदैन। उनको उपस्थिति नै नेतृत्वदायी हुन्छ।’

‘युनाइटेडले प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपमध्ये कुनै ट्रफी जित्यो भने सोल्सेयरको जागीर जोगिन्छ। यदि उनले जिताउन सकेनन् भने युनाइटेडले खेलाडीका रुपमा हुनेवाला म्यानेजर भित्राइसकेको छ।’

– एजेन्सीको सहयोगमा

SHARE: