रोमाञ्चक म्याचमा राजस्थान रोयल्स विजयी भएको छ। बुधबार राति भएको अन्तिम बलमा जित–हारको टुंगो लागेको खेलमा राजस्थानले चेन्नई सुपर किंग्समाथि ३ रनको जित निकाल्यो।
यो जीतसँगै राजस्थान शीर्ष स्थानमा उक्लिउको छ। चार खेलबाट उसको ६ अंक भएको छ भने ६ अंक नै जोडेको लखनउ सुपर जायन्ट्स दोस्रो स्थानमा छ। चेन्नई भने ४ अंकसहित पाचौं स्थानमा छ।
पहिला ब्याटिङ गर्दै राजस्थानले दिएको १७६ रनको लक्ष्य पछ्याएको चेन्नाइले २० ओभरमा ६ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि २१ रन चाहिएको अवस्थामा दोस्रो र तेस्रो बलमा सन्दीप शर्मालाई लगातार छक्का प्रहार गर्दै महेन्द्रसिंह धोनीले चेन्नईलाई जितको नजिक पु¥याए। अन्तिम तीन बलमा जितका लागि ७ रन चाहिएको अवस्थामा सन्दीपले ३ रन मात्र दिएपछि राजस्थान विजयी भयो।
चेन्नाइका लागि ओपनर डेभोन कन्वेले ३८ बलमा ६ चौका प्रहार गरी ५० रन बनाए । अजिक्का रहानेले १९ बलमा २ चौका र १ छक्का मद्दतमा ३१ रन बनाए भने कप्तान महेन्द्र सिंह धोनीले १७ बलमा अविजित ३२ रन बनाए । रविन्द्र जडेजाले १५ बलमा १ चौका र २ छक्का प्रहार गरी अविजित २५ रन बनाए ।
राजस्थानका लागि युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले समान २ तथा सन्दीप शर्मा र एडम जाम्पाले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो। उसका लागि ओपनर जोस बटलरले ३६ बलमा १ चौका र ३ छक्काको मदतमा ५२ रन बनाए । देवदत्त पडिकलले २६ बलमा ३८ रन बनाए।
यस्तै, रविचन्द्रन आश्विन २२ बलमा ३० र शिमरन हेटमायरले १९ बलमा अविजित ३० रन जोडे । चेन्नाइका लागि तुशार देशपान्डे, रविन्द्र जडेजा र आकाश सिंहले समान २ विकेट लिए।