सावित्रा चम्किँदा गोकुलम विजयी

नेपाली राष्ट्रिय महिला टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को निर्णायक गोल गरेपछि उनको टिम गोकुलम केरला एफसी विजयी भएको छ । आइतबार भएको खेलमा सावित्राको गोलको मद्दतमा गोकुलमले श्रीभूमी फुटबल क्लबलाई १–०ले हराउँदै हिरो इन्डियन वुमन लिगमा विजयी सुरुवात गरेको छ ।

बैंगलोरमा आइतबार भएकोको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको ६७औं मिनेटमा सावित्राले गोल गर्दै गोकुलमलाई अग्रता दिलाइन् । त्यसपछि खेलमा कुनै गोल नहुँदा सावित्रा सोही गोल गोलकुलमलाई तीन अंक दिलाउन पर्याप्त भयो ।

१२ टिम सहभागी इन्डियन वुमन लिगमा गोकुलम समूह बीमा छ । समूह बीमा बैंग्लोर युनाइटेड फुटबल क्लब, विदेश–११ स्पोट्र्स क्लब, केन्क्रे एफसी, उडिसा पुलिस, श्री भूमी फुटबल क्लब छन् । यस्तै, समूह एमा सेथु एफसी, बरोडा फुटबल एकेडेमी, बीबीके देव फुटबल क्लब, कोल्हापुर सिटी, कङ्चुप रोड, किकस्टार्ट एफसी कर्नाटक छन् ।

गोकुलम प्लेफमा जित निकाल्दै समूह चरणमा प्रवेश गरेको हो । उसले प्लेअफमा अल्कापुर फुटबल क्लबलाई समग्रमा ९–१ले पराजित गरेको थियो ।

सावित्रासँगै नेपाली राष्ट्रिय टिमकी अर्की स्ट्राइकर अनिता बस्नेताले पनि इन्डियन वुमन लिग खेलिरहेकी छिन् । उनी डिफेन्डिङ च्याम्पियन सेथु एफसीमा आबद्ध छिन् । दुवैले लागातार दोस्रो पटक इन्डियन लिग खेलेका हुन् । अघिल्लो सिजन सावित्रा र अनिताले नै सेथुबाट खेलेका थिए ।

अघिल्लो सिजन सेथुलाई च्याम्पियन बनाउने क्रममा सावित्राले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले ३ ह्याट्रिकसहित १५ गोल गरेकी थिइन् ।