कतारमा घुँडाको उपचारपछि नेपाली महिला फुटबलर सावित्रा भण्डारी आज स्वदेश फर्किंदै छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सावित्रा मंगलबार साँझ ७ः३५ बजे कतार एयरलाइन्सको विमानमा काठमाडौं अवतरण गर्नेछिन् ।
कतारस्थित अस्पेटार अस्पतालमा घुँडाको शल्यक्रिया गरेर सावित्रा ७ महिनापछि नेपाल फर्कन लागेकी हुन्। अस्पतालले सावित्रालाई आइतबार परीक्षण गरेपछि डिस्चार्ज दिएको थियो ।
महिला राष्ट्रिय लिगका क्रममा सावित्राको घुँडामा चोट लागेको थियो । त्यसपछि उनी गत असार १२ गते उपचारका लागि कतार पुगेकी थिइन् । उनको उपचारमा अखिल नेपाल फुटबल संघले सहयोग गरेको थियो।
नेपाल फर्किएपछि सावित्राले ग्राउन्ड रिहाब गर्नुपर्ने छ । ग्राउन्ड रिहाबपछि सावित्रा केही सातामै मैदान फर्कन सक्ने बताइएको छ।
राष्ट्रिय टिमका लागि कीर्तिमान ३८ गोल गरेकी सावित्रालाई एन्फाले उपचारका लागि सहयोग गरेको थियो । उनी गत असार १२ गते कतार गएकी थिइन् ।
नेपालको मात्र नभएर दक्षिण एसियाकै उत्कृष्ट महिला खेलाडीको रुपमा रहेकी सावित्रा लिग दौरान नै विदेशमा खेल्न एजेन्टको खोजीमा थिइन् । तर चोटका कारण उनको यो चाहना पूरा हुन सकेन ।