सचिनका छोराले लिए पहिलो अन्तर्राष्ट्रिय विकेट

मास्टर ब्लास्टर सचिन तेन्दुलकरका छोरा अर्जुनले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएका छन् । पहिलोपटक उमेरसमूहको राष्ट्रिय टिममा परेका अर्जुनले श्रीलंकाविरुद्धको टेस्टमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय विेकट लिएका हुन् ।

१८ वर्षीय अर्जुन तिव्र गतिमा बलिङ गर्नुका साथै ब्याटिङ पनि गर्छन् । अर्जुनको यो सफलतालाई सामाजिक सञ्जालमा धेरैले बधाई समेत दिएका छन् ।

भारतीय यू–१९ टिम अहिले श्रीलंका भ्रमणमा छ । त्यहाँ उसले श्रीलंकाको यू–१९ टिमसँग २ टेस्ट र ५ एकदिवसीय म्याच खेल्ने छ ।

अर्जुनले श्रीलंकासँगको पहिलो टेस्टको पहिलो इनिङमा श्रीलंकाका कामिल मिसारालाई एलबीडब्ल्यू आउट गर्दै पहिलो विकेट लिए । पहिलो इनिङको आफ्नो तेस्रो ओभरमा अर्जुनले विकेट लिएका थिए । सो इनिङमा अर्जुनले ११ ओभर बलिङ गर्दै २ मेडनसहित ३३ रन खर्चिएर १ विकेट लिए ।

टस जितेर भारतले फिल्डिङ रोजेपछि ब्याटिङका लागि आएको श्रीलंका पहिलो इनिङमा २ सय ४४ रनमा अल आउट भयो । उसका लागि पसिन्दु सूरियाबन्दराले सर्वाधिक ६९ रन बनाए भने निशान मदुस्का, निपुन धनन्जय, एसटी मेन्डिसले ३९–३९ रनको योगदान दिएका थिए ।

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा भारतका हर्ष त्यागी र आयुश बदोनीले समान ४–४ विकेट लिएका थिए ।
जवाफी ब्याटिङका लागि आएको भारतले उत्कृष्ट सुरुवात गरेको छ । दोस्रो दिनको खेल सकिँदासम्म भारत ५ विकेटको क्षतिमा ४७३ रन बनाएर खेलिरहेको छ । उसले २२९ रनको अग्रता लिएको छ । उसका लागि अथर्व ताइडे र आयुष बदोनीले शतकीय योगदान गरे । ताइडे १ सय १३ रन बनाएर आउट भए भने बदोनी १०७ रनमा नटआउट छन् ।