साफ च्याम्पियनसिप : समूहको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दै

बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबल (साफ सुजुकी कप) को अन्तिम खेलमा शनिबार नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ६ः४५ बजे हुने छ ।

पहिलो खेलमा पाकिस्तानसँग अप्रत्यासित रुपमा पराजय बेहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० को फराकिलो अन्तरले पराजित गरेकाले नेपलाको मनोबल उच्च छ । बंगलादेश पनि अघिल्ला दुवै खेलमा जित हात पार्दै प्रतियोगमा राम्रो सुरुवात गरेको छ ।

फिफा वरियतालाई आधार मान्ने हो भने नेपाल बंगलादेशभन्दा बलियो छ । नेपाल फिफ वरियताको १ सय ६१ औं स्थानमा छ भने बंगलादेश ३३ स्थान तल १ सय ९४ औं स्थानमा छ ।

तर, तथ्यांकमा भने बंगलादेश नेपालभन्दा निकै बलियो छ । समग्रमा नेपाल र बंगालादेश आपसमा १८ पटक आमन–सामने भएका छन् । जसमध्ये १२ खेलमा बंगलादेश विजयी भएको छ भने नेपाल ५ खेल मात्र जितेको छ । यस्तै एउटा खेल भने बराबरीमा सकिएको थियो ।

यसैगरी साफ च्याम्पियनसिपमा नेपाल र बंगदादेश ६ पटक आपसमा भिडेका छन् । ति मध्ये अघिल्ला ४ भीडिन्तमा बंगलादेशले नेपाललाई पराजित गरेको थियो भने पछिल्ला २ भेटमा नेपालले बंगलादेशलाई हराएको छ । सन् १९९५को साफ च्याम्पियनसिपमा नेपाल २–०ले पराजित भएको थियो भने सन् १९९९ मा २–१, सन् २००३ मा १–० र सन् २००५ मा २–०ले पराजय बेहोरेको थियो ।

सन् २०११ को साफ च्याम्पियनसिपमा नेपाल १–० ले विजयी भएको थियो भने सन् २०१३ मा पनि नेपालले बंगलादेशलाई २–० ले पराजित गरेको थियो । सन् २०१३ यता नेपाल र बंगलादेश पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।

सेमिफाइलन पुग्न नेपालको समीकरण ?
नेपाल, बंगालदेश, पाकिस्तान र भुटान रहेको प्रतियोगिताको समूह ‘ए’बाट सेमिफाइन पुग्ने सम्भावना सबै बाँकी छ । दुवै खेलमा जित हात पारेको बंगादेश समूहको शीर्ष स्थानमा छ । एक–एक खेल जितेका नेपाल र पाकिस्तान क्रमश दोस्रो र तेस्रो स्थानमा छन् भने भुटान अंकविहीन हुँदै पुछारमा छ ।

यदि आजको पहिलो खेलमा खेलमा पाकिस्तानले भुटानलाई पराजित गरेमा नेपाललाई सेमिफाइन पुग्ने बंगलादेशलाई हराउनै पर्ने हुन्छ । तर, भुटान विजयी भएमा भने सेमिफाइलन पुग्न नेपाललाई बराबरी नै पर्याप्त हुने छ । यदि भुटान पहिले खेलमा विजयी भएमा नेपाल बंगालदेशसँग कम गोलअन्तरमा पराजित भएमा पनि नेपाल बढी गोल अन्तरका आधामा समेफिाइलन पुग्ने छ ।

यस्तै, समूह एको अन्तिम खेलमा पाकिस्तान विजयी भएमा र नेपाल पारजित भएको अवस्थामा भने नेपाल समूह चरणबाटै बाहिरिने छ । अन्तिम खेलमा नेपाल र पाकिस्तान विजयी भएमा सेमिफाइलन पुग्ने टिमको टुंगा गोल अन्तरका आधारमा हुने छ ।