प्रथम साईनो खुल्ला मेयरकप प्रतियोगिता सुरु

तारकेश्वर नगरपालिकाको प्रायोजन तथा साईनो स्पोर्टस् हलको आयोजनामा प्रथम साईनो खुल्ला मेयरकप ब्याडमिन्टन प्रतियोगिता २०७७ बुधबारबाट सुरु भएको छ । प्रतियोगिताको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरे ।

पाँच दिनसम्म संचालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (राष्ट्रिय बरियतामा एकल र युगलमा उच्च २० मा रहेका बाहेक) भेट्रान्स (४५ वर्ष माथि) बी र सी लेबल गरि कुल ६ बिधामा १९७ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुष एकल र युगलमा बिजयी शिर्ष तीन स्थानका खेलाडीहरुले नगद ५०, ३० र १० हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यस्तै पुरुष एकलमा क्वाटरफाईनलिष्टहरुले नगद ५ हजार र प्रमाण पत्र प्राप्त गर्ने छन् । महिला एकल तर्फ शिर्ष तीनले ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् । भेट्रान्स तर्फ बिजयी शिर्ष तीनले ४०, २५ र २० हजारका साथै मेडल, प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै प्रथम स्थान प्राप्त गर्नेलाई ट्रफी प्रदान गरिने छ ।

आजैबाट सुरु भएको प्रतियोगितामा कैलालीका देवराज राना र सेनाका पविन लिनथेपले प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताका विजयी सुरुवात गरेका छन् । देवराजले आयोजक साईनोका सुजन थापालाई २१–१४ को समान अन्तरले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । यस्तै पविनले बुटवलका प्रतिक अर्याल माथि २१–७, २१–८ को जित हात पारे ।

यस्तै सेनाका सन्तोष पनेरुले काठमाडौं ब्याडमिन्टन एकेडेमीका प्रतिक श्रेष्ठमाथि २१–३, २१–५, गोकुल जोराले एनआएएन दुवईका साहिल चन्दलाई २१–५, २१–१०, रुकेश महर्जनले काठमाडौं ब्याडमिन्टन एकेडेमीका अश्विन जलानलाई २१–१३, २१–१० पराजित गर्दै अघिल्लो चरण प्रवेश गरे । यस्तै, सहरोज अन्सारीले नेपाल पुलिसका पूर्णबहादुर थापा, सेनाका आयुष्मान नागरी, सुर्खेतका नरेन्द्र बल, सेनाकै भोजबहादुर गुरुङ लगायत पनि आ–आफ्नो खेल जित्दै अघिल्लो चरण प्रवेश गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.