नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि वेस्टइन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) गुमाउने भएका छन्। पिएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल पर्ने भएपछि सन्दीपले सिपिएल गुमाउने भएका हुन्।
राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्यका रुपमा रहेका सन्दीप राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त हुनुपर्ने भएकाले पनि सिपिएल गुमाउने सम्भावना बढी भएको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले बताए । यसअघि सन्दीपले इंग्ल्यान्ड भएका दुई प्रतियोगिता टि–२० ब्लास्ट र द हन्ड्रेड पनि गुमाएका थिए।
सिपिएलका लागि सन्दीप डिफेन्डिङ च्याम्पियन्स ट्रिनबेगो नाइट राइडर्समा अनुबन्ध भएका छन्। सिपिएल अगष्ट २६ देखि सेप्टेम्बर १५ सम्म सञ्चालन हुनेछ।
सन्दीपले यसअघि तीन सिजनको सिपिएल खेलिसकेका छन्। उनले गत सिजन जमैका तलावाजबाट खेलेका थिए। त्यसअघि सन्दीपले सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए।
नेपालले ओमानमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकाकासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दैछ। त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म चल्नेछ।
कोणात्मक सिरिज खेल्नुअघि नेपालले पपुवा न्युगिनीसँग सेप्टेम्बर ५ र ८ तारिखमा दुई खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। दुवै खेल ओमनमा नै हुनेछ।