टि–१० लिगमा सन्दीपको उत्कृष्ट बलिङ, तर उनको टिम ९ विकेटले पराजित

युएईमा जारी दोस्रो संस्करणको टि–१० लिग क्रिकेट प्रतियोगितामा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि उत्कृष्ट बलिङ गरेका छन् । तर, सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शनका बाबजुद पनि उनको टिम केरला किंग्स भने ९ विकेटले पराजित भएको छ । केरला सिन्धिससँग पराजित भएको हो ।

सिन्धिसविरुद्ध सन्दीपले २ ओभर बलिङ गर्दै १४ रन खर्चेर १ विकेट लिए । सन्दीपले सिन्धिसको एकमात्र विकेटका रुपमा ४९ रन बनाएका एन्टोन डेभसिचलाई फावियन एलेनको हातबाट क्याच आउट गराएका थिए ।

यसअघि सन्दीपले पख्तुन्सविरुद्धको खेलमा ३ विकेट लिएका थिए । उनले आफ्नो पहिलो ओभरको पहिलो बलमै एन्ड्रे फ्लेचर र अन्तिम बलमा कोलिन इन्ग्रामलाई आउट गरेका थिए । यस्तै उनले सातौं तथा आफ्नो दोस्रो ओभरमा मोहम्मद कलीमलाई

किरोन पोलार्डको हातबाट क्याच आउट गराएका थिए । सो क्रममा उनले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिएका थिए । टस हारेर ब्याटिङका लागि आएको केरालले सुरुवात राम्रो गर्न सकेन । केरलाले १० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो ।

केरलाले पहिलो ओभरमै ४ विकेट गुमायो । लगत्तै अर्को ओभरमा केरलाले अर्को विकेट पनि गुमायो । २.२ ओभरमा १२ रन बनाउँदा केरलाले ५ विकेट गुमाएको थियो । त्यसपछि अर्को ओभरमा १ रन बनाएका पाउल स्टर्लिङ पनि आउट हुँदा केरलाको झन नाजुक बनेको थियो ।

त्यसपछि सातौं विकेटका लागि वायन पार्नेल र सोहेल तनविरले ४९ रनको पार्टनरसिप गर्दै केरलाको इनिङ्स उकासेका थिए । सोहेल १४ बलमा २३ रन बनाएर आउट भए । केरलाका लागि वायन पार्नेलले सर्वाधिक ५९ रन बनाए । उनले २४ बल खेल्दै ७ चौका र ४ छक्काच प्रहार गरे । यस्तै टम कुरानले ७ रन बनाए । केरलाका ४ ब्याट्सम्यान डकआउट भएका थिए ।

सिग्धिसका प्रविन ताम्बेले ह्याट्रिकसहित ५ विकेट लिए । उनले २ ओभरमा १५ रन खर्चेका थिए । यस्तै इसुरु उडानाले १ विकेट लिए । केरलाले दिएको १ सय ४ रनको लक्ष्य सिग्धिसले ७.४ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो । सिग्धिसका कप्तान शेन वाट्सनले अर्धशतक बनाए । उनले २४ बलमा समान ४ चौका र छक्का प्रहार गरे । यस्तै डेभसिचले ४९ रनको योगदान दिए । उनले २० बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरे ।