आजका लागि तय भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाई स्थगित भएको छ। सन्दीपका वकिलले सुनुवाई स्थगित गर्न निवदेन दिएपछि जिल्ला अदालत काठमाडौंले सुनुवाई स्थगित गरेको हो।
सो मुद्दाको अन्तिम सुनुवाई जिल्ला अदालत काठमाडौंमा न्यायाधीश माधव घिमिरेको इजलासमा पेशी चढेको थियो। घिमिरेले नै कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए।
आफूहरूको निवेदनका आधारमा आजको सुनुवाई स्थगित भएको सन्दीपका वकिल वकिल मुरारी बताए। मुद्दाको अर्को पेशी आज अपरान्ह तोकिने छ।
गत फागुन १५ गते फास्ट ट्रयाकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार आजदेखि उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको थियो।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध
जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गतेउच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।
विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
यस्तै क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो।
सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो।