°
, May 29, 2023 in

नेपाल सेमिफाइनल पुगेपछि सन्दीपले भने– युएईविरुद्ध ज्यान लगाएर लेख्छौं, नेपाललाई विश्वकपमा पुर्‍याउँछौं

SHARE:

नेपाली राष्ट्रिय क्रिकेट टिम दोस्रो पटक टि–२० विश्वकप खेल्न एक जित मात्र टाढा छ । विश्वकपको ग्लोबल छनोट अन्तर्गत मंगलबार हुने समूह एको सेमिफाइनलमा युएईविरुद्ध जित निकाले नेपाली टिम यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छ।

छनोटको समूह एको ग्रुप १मा नेपालले शतप्रतिशत जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो । नेपालले ओमानलाई ३९, फिलिपिन्सलाई १३६ र अन्तिम खेलमा क्यानडामाथि ८ विकेटको जित निकाल्यो ।

क्यानडाविरुद्धको खेलमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरे र क्यानडालाई ८० रनमै अलआउट गरे । त्यसमा कप्तान सन्दीप लामिछानेको प्रदर्शन उत्कृष्ट थियो । उनले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । उनी खेलको ‘प्लेयर अफ दी म्याच’ पनि भए ।

प्लेयर अफ दी म्याच भएपछि सन्दीपले नेपाललाई विश्वकपमा पुर्‍याउने प्रतिबद्धता जनाए । उनले भोलि हुने युएई विरुद्धको खेलमा ज्यान लगाएर खेल्ने र नेपाललाई जिताउने बताए ।

‘हाम्रो तर्फबाट शतप्रतिशत दिएइरहेकाका छौँ। भोलि पनि त्यसैलाई निरन्तरता दिनेछौं,’ सन्दीपले भने, ‘युएईविरुद्ध जिउज्यान लगाएर खेल्छौं र नेपाललाई विश्वकपमा छनोट गराउँछौं ।’

कप्तान सन्दीपले अहिलेसम्म टिमलाई विश्वास गर्दै दिएको साथ र समर्थनका लागि समर्थकलाई धन्यवाद पनि दिए । उनले भने, ‘हामीलाई विश्वास गर्दिनु भएकोमा सम्पूर्णलाई धन्यवाद ।’

सन्दीपले नेपालका लागि भोलि एउटा महत्वपूर्ण खेल भएको र त्यसमा पनि सबैको त्यत्तिकै माया र प्रेमको आशा गरेको पनि बताए ।

विश्वकपको ग्लोबल छनोट अघि पनि सन्दीपले नेपाल टि–२० विश्वकप खेल्नेमा आफू ढुक्क रहेको बताएका थिए। । उनले नेपालसँग प्रतिभाशाली र सन्तुलित खेलाडी रहेको बताउँदै नेपाल उत्कृष्ट दुई टिमका रूपमा विश्वकप छनोट हुने दाबी गरेका थिए।

SHARE: