द हन्ड्रेडको ड्राफ्टमा सन्दीप

नेपाली कप्तान सन्दीप लामिछाने इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने १०० बलको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता द हण्ड्रेडको ड्राफ्टमा परेका छन् । यसअघि दुईपल्ट छानिए पनि विभिन्न कारणले प्रतियोगिता खेल्न नपाएका सन्दीप तेस्रोपल्ट ड्राफ्टमा परेका हुन् । ड्राफ्ट आगामी सोमबार हुनेछ ।

ड्राफ्टमा सन्दीप ६० हजार पाउण्डको क्याटागोरीमा परेका छन् । यो क्याटागोरीमा वेष्ट इण्डिजका सिमसन हेटमायर, दक्षिण अफ्रिकाका केन रिचर्डसन, अस्ट्रेलियाका एडम जाम्पालगायतका खेलाडीहरु छन् ।

१६ देशका २८४ जना खेलाडीलाई ड्राफ्टमा समावेश गरिएको बीबीसीले जानकारी दिएको छ । हरेक टोलीमा १५ जना खेलाडी हुनेछन् । आगामी प्रतियोगिताका लागि सहभागी आठवटै टिमले अधिकांश खेलाडी रिटेन गरेका छन् । त्यसैले सोमबारको ड्राफ्टमा ४२ खेलाडीका लागि मात्र स्थान मिल्नेछ ।

सन् २०२० का लागि तय भएको प्रतियोगिता कोरोना महामारीका कारण स्थगित भएको थियो । सन्दीप ओभल इन्भेन्सीवल्सका लागि ड्राफ्टबाट अनुबन्धित भएका थिए ।

कोरोनाका कारण सरेको प्रतियोगिता गत असारमा आयोजना भएको थियो । ६० हजार पाउण्डमा अनुबन्धित भएका सन्दीप इंग्ल्याण्ड पुगेर पनि भिसा समस्याका कारण प्रतियोगिताबाट बन्चित भएका थिए ।