नाबालिग बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेसँग अदालत खुलेपछि मात्र बयान हुने भएको छ । प्रहरीमा जाहेरी दर्ता भएको एक महिनापछि उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।
उनलाई काठमाडौं प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । अमेरिका हुँदै कतारको दोहा ट्रान्जिट भएर बिहीबार बिहान पौने ११ बजे विमानस्थल अवतरण गरेलगत्तै उनलाई अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो । अध्यागमन कार्यालयका एक कर्मचारीका अनुसार लामिछानेले आफू अमेरिकाबाट कतार हुँदै आएको उल्लेख गरेका थिए ।
पक्राउपछि आरोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बयान प्रक्रिया अघि बढाउनुपर्नेमा दसैं बिदा परेकाले आइतबार मात्रै अदालत खुल्नेछ । त्यसपछि लामिछानेलाई अदालत उपस्थित गराइनेछ । पक्राउलगत्तै प्रहरीले उनको स्वास्थ्य परीक्षण गराइसकेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ । उनीविरुद्धको कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।