क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएका छन् । पाटन उच्च अदालतले सन्दीपलाई कारागार चलान गर्ने काठमाडौं जिल्ला अदालतको फैसला बदर गर्दै २० लाख धरौटीमा रिहा गरेको थियो ।
धरौटीमा रिहा गरेपनि उच्च अदालतले सन्दीपका लागि सिमाहरु तोकेको थियो । उनलाई विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्नुपरे पनि प्रहरीको अनुमति लिनुपर्ने लगायतका पाँच शर्तहरु राखेको थियो ।
सन्दीपले एक साता अघि नै उच्च अदालतको सो आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा पुनरावेदन दिएका हुन् । उनले राष्ट्रिय टिमबाट विदेशमा पनि खेल्न पाउने माग गर्दै सर्वोच्चमा पुनरावेदन दिएका हुन्।
उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले पनि सर्वोच्चमा पुनरावेदन दिएको छ । सरकारी वकिलको कार्यालयले सन्दीपलाई कारागारमै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश माग गर्दै पुनरावेदन दिएको थियो । त्यसमा सर्वोच्चले फैसलाका मिसिल भिकाउन आदेश दिइसकेको छ ।
अदालत स्रोतका अनुसार सन्दीपले गरेको पुनरावेदनमा भने फागुन १२ गतेलाई पेसी तोकिएको छ।
नेपाली क्रिकेट टीम यूएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न आगामी १३ गते दुबई जाँदैछ । अदालतले विदेश जान रोक लगाएकाले सन्दीप सो टीममा रहने छैनन् । तर, यदि १२ गते सर्वोच्चको पेसीले उक्त रोक फुकुवा गरिदियो भने सन्दीपलाई यूएई जान बाटो खुल्नेछ ।