°
, May 29, 2023 in

विदेशमा खेल्न सर्वोच्चले दिएन सन्दीपलाई अनुमति

SHARE:

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिन अस्वीकार गरेको छ। विदेश खेल्न जान लगाइएको प्रतिबन्धमाथि सन्दीपले गरेको पुनरावेदनमा सर्वोच्चले आइतबारका लागि पेसी तोकेपछि सन्दीप नेपाली टिमसँगै भोलि युएई जान नपाउने भएका हुन्।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइको क्रममा सरकारी पक्ष र सन्दीप दुवैको पुनरावेदनको निवेदन अग्राधिकारसहित एकै ठाउँमा राखेर आइतबार सुनुवाइ गर्ने आदेश भएको छ।

उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो जसले गर्दा यूएईमा खेल्न जाने नेपाली राष्ट्रिय टीममा उनी समावेश छैनन् । सन्दीपले उक्त रोक हटाएर आफूलाई यूएई जाने अनुमति दिन निवेदनमा आग्रह गरेका छन्।

यता सरकारी वकिल पक्षले पाटन उच्च अदालतको धरौटीमा छाड्ने आदेशविरुद्ध दर्ता गरेको पुनरावेदनको आजको सुनुवाइ भने हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र हरिकुमार फुयाँलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी चढेको थियो।

साथै सर्वोच्चले अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।

SHARE: