बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथि आज सजाय निर्धारण हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो ।

तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै पेसी तोकेर दुबै पक्षको बहस सुनेर सजाय निर्धारण गर्ने व्यवस्था छ।

पीडित गौशाला–२६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो।

अदालतले लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १, २ र ३ ९ङ० बमोजिम कसुर गरेको जनाएको छ।

यस्तै, उपदफा ३ (ङ) मा १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने उल्लेख छ । यस्तोमा सन्दीपलाई कम्तिमा ७ र बढिमा १० वर्ष जेल सजाय तोकिने छ।

फैसलाविरूद्ध सन्दीपले बाहिरै बसेर पुनरावेदन गर्न सक्नेछन्।

Back To Top