नेपालका लेग स्पिन सेन्सेसन सन्दीप लामिछाने आगामी सिजनको बिग बास लिग (बीबीएल) खेल्ने निश्चित भएको छ। होबर्ट हुरिकेन्सले नयाँ सिजनका लागि सन्दीपलाई अनुबन्ध गरेको हो।
हुरिकेन्सले पहिलो विदेशी खेलाडीका रुपमा सन्दीपलाई अनुबन्ध गरेको हो। सन्दीपले गत सिजन पनि हुरिकेन्सबाटै बीबीएल खेलेका थिए। हुरिकेन्सका लागि ८ खेल खेल्ने क्रममा उनले ८ विकेट लिएका थिए। त्यसअघि भने सन्दीपले मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए।
सन्दीपले हुरिकेन्सबाट बिग ब्यास खेल्न आफु उत्साहित रहेको बताएका छन्। क्रिकइन्फोसँग कुरा गर्दै सन्दीपले गत सिजन हुरिकेन्सबाट खेल्दा सबै खेल खेल्न नपाए पनि निकै मज्जा लिएको बताउँदै यो सिजन पूरै प्रतियोगिता खेल्न उत्साहित रहेको बताएका छन्।
बीबीएलको नयाँ सिजन ५ डिसेम्बरदेखि २८ जनवरी २०२२ सम्म आयोजना हुने पक्का भएको छ।
गत सिजनको बीबीएल खेलेयता कुनै पनि फ्रेन्चाइज लिग नखेलेका सन्दीपले भिसाको समस्याका कारण ‘द हन्ड्रेड’ र भाइटालिटी ब्लास्ट गुमाएका थिए। विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजका कारण उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) पनि गुमाएका छन्।
त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि सन्दीप हाल राष्ट्रिय टिमसँगै ओमानमा छन्।