नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियन फेन्चाइज लिग बिग बासमा नयाँ क्बल होबर्ट हुरिकेन्समा आबद्ध भएका छन् । यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका सन्दीपलाई यो सिजन मेलबर्नले रिटेन गरेपछि उनी नयाँ सिजनका लागि होबर्ट हुरिकेन्समा आबद्ध भएका हुन् ।
होबार्टले बिहीबार बिहान तेस्रो विदेशी खेलाडीका रुपमा सन्दीपलाई अनुबन्धन गरेको हो । होबर्टले सन्दीपलाई अफगान स्पिनर क्वाइस अहमदको स्थानमा अनुबन्धन गरेको हो। होबर्टले टी २० का नम्बर वान ब्याट्सम्यान डेविड मालान र वेष्टइन्डिजका अलराउण्डर किमो पाउललाई अनुबन्धन गरेको छ ।
बिग बासका लागि नयाँ क्लबमा आबद्ध भएपछि सन्दीपले होबार्टबाट खेल्न पाउनु सम्मान भएको बताएका छन् । ‘होबार्टमा सामेल हुन पाउँदा सम्मान महसुस गरेको छु । अष्ट्रेलियामा मैले सधैँ माया र सम्मान पाएको छु,’ सन्दीपले भनेका छन्, ‘म ब्लन्डस्टोन एरिनामा खेल्नका लागि थप कुर्न सक्दिनँ ।’
सन्दीप टिममा आबद्ध भएपछि टिमको बलिङ थप बलियो भएको मुख्य प्रशिक्षक एडम ग्रिफ्टले बताएका छन् । सन्दीपको प्रसंशा गर्दै ग्रिफ्टले भनेका छन्, ‘हामी देखेका छौँ कि सन्दीपले रहस्यमय स्पिनको साथ खेल परिवर्तन गर्न सक्छन् । इनिङ्सको कुनै पनि चरणमा बलिङ गर्न सक्छन् । उनी एक विकेट टेकर हुन् जसले हाम्रो बलिङमा अर्को आयाम थप्नेछ।’
मेलबर्नबाट दुई सिजन बिग बास लिग खेल्दा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिएका छन्। यो पटकबाट ३ विदेशी खेलाडी प्लेइङ सेटमा राख्न पाउन नियम भएपछि सन्दीपले सुरुवातबाटै मौका पाउने छन् ।
बिग बासको नयाँ सिजन डिसेम्बर १० बाट सुरु हुँदंै छ । होबर्टले उद्घाटन खेलमै सिड्नी सिक्सर्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । होबर्टमा म्याथु बाडे, स्कट ब्लाइन्ड, जेम्स फल्कनर, डार्ची सट, पिटर ह्यान्कोम्ब लगायतका खेलाडी छन् ।