सन्दीपको उत्कृष्ट बलिङ, २३ रन खर्चेर लिए १ विकेट

तेस्रो सिजन क्यारेबियन प्रियिमर लिग (सिपिएल) खेलिरहेका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले पहिलो खेलमै उत्कृष्ट बलिङ गरेका छन् । ट्रिनिडाड एन्ड टोबागोमा जारी प्रतियोगिताको पहिलो खेलमा सेन्ट लुसिया जुक्सविरुद्ध सन्दीपले ४ ओभरमा २३ रन खर्चेर महत्वपूर्ण एक विकेट लिए ।

क्रिजमा जमिरहेका नाजिबुलाह जद्रानलाई सन्दीपले आफ्नो चौथो ओभरको दोस्रो बलमा रोमन पावलबाट क्याच आउट गराएका थिए । जद्रानले २१ बलमा २५ रन बनाए । सन्दीपको विकेटले जद्रान र रोस्टन चेसको उत्कृष्ट साझेदारी टुटेको थियो । दुवैले चौथो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए ।

नवौं ओभरमा आफ्नो पहिलो स्पेल लिएरका आएका सन्दीपले १ छक्कासहित ८ रन दिए भने ११औं ओभरमा दास्रो स्पेलका लागि आएका उनले ३ रन मात्र दिएका थिए । यस्तै, १३औं ओभरमा आफ्नो तेस्रो ओभर गरेका उनले १ चौकासहित ८ रन मात्र दिए भने १५औं ओभरमा आफ्नो अन्तिम स्पेल गरेका सन्दीपले ४ रन मात्र दिएर १ विकेट लिए ।

सन्दीपले ४ ओभरमा १२ डटबल गरेका थिए । उनले १ चौका र १ छक्का खाएका थिए भने १ वाइड बल फ्याँकेका थिए । सन्दीपका अलावा जमैका तलावासमा मुजिब उर रहेमान, वीरासामी प्रेमउलले समान २–२ विकेट लिएका थिए ।

यसघिका दुई सिजनमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेकाले यो सिजन सन्दीपलाई सोही अपेक्षासाथ जमैकाले ९० हजार अमेरिकी डलरमा किनेको हो । दुई संस्करणमा गरी उनले कुल १५ विकेट लिएका छन् । उनले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सबाट ५ खेलमा ७ विकेट लिएको थिए ।

दोस्रो बार्बादोस ट्राइडेन्समा आबद्ध भएका सन्दीपले बाट ६ खेलमा ८ विकेट लिएका थिए । नेपाली राष्ट्रिय टिमको खेल परेकाले दुवै सिजन सन्दीपले पुरा सिजन खेल्न पाएनन् । यो सिजन भने सन्दीपले पुरै खेल खेल्ने छन् । दोस्रो सिजन सन्दीपको टिम बार्बादोस च्याम्पियन बनेको छ । फ्रेन्चाइज क्रिकेटमा सन्दीप आबद्ध टिम च्याम्पियन बनेको यो पहिलो पटक हो ।

प्रतियोगिताको लागि कोरियन एयरको चार्टर्ड जहाजमार्फत दक्षिण कोरिया, अमेरिका हुँदै ट्रिनिडाड एन्ड टोबागो गएका थिए। १४ दिन क्वारेन्टिन बसेर कोरोना परीक्षण गराएर सन्दीप टिममा सामेल भएका थिए ।