इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले केही समयका लागि क्रिकेटका सबै स्वरूपबाट विश्राम लिए छन् । मानसिक कारण देखाएर उनले आराम लिन खोजेको इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले जनाएको छ ।
प्रतिस्पर्धाको चर्को स्वरूपको दबाब झेल्न गाह्रो भएपछि क्रिकेटबाटै टाढिने उनी अर्का स्टार खेलाडी भएका छन् । इंग्ल्यान्ड र भारतबीच अर्को सातादेखि ट्रेन्ट ब्रिजमा पाँच टेस्टको सिरिज सुरु हुँदैछ र त्यसमा स्टोक्स हुने छैनन् ।
स्टोक्सको यस्तो निर्णयले इंग्लिस टिमलाई केही समस्यामा पारेको छ । उनी इंग्ल्यान्डका सबैभन्दा महत्वपूर्ण खेल हुन् । स्टोक्सको स्थानमा इसिबीले क्रेग ओभरटनलाई टेस्ट टिममा समावेश गरेको छ।
‘तत्काल लागू हुने गरेर स्टोक्सले सबै खाले क्रिकेटबाट अनिश्चित समयका लागि विश्राम लिएका छन्,’ बोर्डले थपेको छ, ‘अर्को सातादेखि भारतविरुद्ध सुरु हुने टेस्ट सिरिजका लागि स्टोक्सले नाम फिर्ता लिएका छन् । उनको प्रमुख उद्धेश्य मानसिक रूपमा स्वस्थ रहने र चोट लागेको औंलालाई निको पार्ने हुनेछ ।’