इन्जुरी समयको अन्तिम समयमा गरेको गोल मद्दतमा मनाङ मर्स्याङ्दी क्लब हारबाट जोगिएको छ। सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार भएको पहिलो खेलमा फ्यांकलिन क्वेटे टालाले इन्जुरी समयमा गोल गरेपछि मनाङले संकटा क्लबसँग २–२को बराबरी खेलेको हो।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा दुई पटक लिएको अग्रता जोगउन नसक्दा संकटा मनाङसँग अंक बाँड्न बाध्य भयो । संकटाका निरज बस्नेत र उत्तम राईले गोल गरेका थिए भने मनाङका लागि दयानन्द सिंह र क्वेटे टालाले गोल गरे।
खेलको ३१औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा निरजले हेडर गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । तर, चार मिनेटपछि नै मनाङले बराबरी गोल फर्कायो । ३५ औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा ओलावाले आफिजले मिलाएको पासमा दयानन्दले गोल गरे गर्दै खेललाई बराबरीमा ल्याए।।
७०औं मिनेटमा संकटाले पुनः अग्रता लियो । फोडे फोफानाको पासमा उत्तम राईले गोल गर्दै संकटालाई अग्रता दिलाए । हारतर्फ अग्रसर भएको मनाङका लागि इन्जुरी समयको चौथो मिनेटमा डिबक्स बाहिरबाट क्वेटे टालाले भलीमार्फत उत्कृष्ट गोल गर्दै टिमलाई हारबाट जोगाए।
बराबरीपछि मनाङ ३ खेलबाट ७ अंक जोड्दै दोसो स्थानमा छ । संकटा समान खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ ।