सहिद स्मारक ए लिगमा संकटा क्लबले पुनरागमन जित निकालेको छ। शुक्रबार दशरथ रंगशालमा भएको दोस्रो खेलमा फ्रेन्ड्स क्लबविरुद्ध १ गोलले पछि परेको अवस्था उल्टाउँदै संकटाले २–१को जित निकालेको हो।
लिगमा संकटाको यो पहिलो जित हो । पहिलो खेलमा संकटा र फ्रेन्ड्स दुवैले बराबरी खेलेका थिए । संकटाले हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेल्दा फ्रेन्ड्सले सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो।
संकटाको जितमा निरज बस्नेत र फोडो फोफानाले गोल गरेका थिए भने फ्रेन्ड्सका लागि कप्तान प्रकाश बुढाथोकीले गोल गरेका थिए। खेलमा पहिलो हाफाको अन्त्यतिर फ्रेन्ड्सले अग्रता लियो । ४२औं मिनेटमा उसका कप्तान प्रकाश बुढाथोकीले गोल गरेका थिए।
पहिलो हाफ १–०ले पछि परेको सकटाले दोस्रो हाफमा २ गोल गर्दै जित निकाल्यो । ५७ औं मिनेटमा निरज बस्नेतले गोल गर्दै संकटालाई खेलमा फर्काएका थिए। त्यसपछि ८६ औं मिनेटमा फोडे फोफानाले गोल गरेपछि संकटा २–१ले विजयी भयो।
जितपछि २ खेलबाट ४ अंक जोडेको संकटा दोस्रो स्थान उक्लेको छ । समान अंक भएपनि क्लिनसिट राखेको सातदोबाटो युथ क्लब शीर्ष स्थानमा छ । फ्रेण्ड्सको २ खेलबाट १ अंक मात्र छ ।