मार्टिन्सको ह्याट्रिकमा एपिएफमाथि सातदोबाटोको जित, शीर्ष स्थानमा उक्लियो

सहिद स्मारक ए डिभिजन लिगको नवप्रवेशी टिम सातदोबाटो युथ क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार भएको खेलको विभागीय टिम एपिएफ क्लबमाथि ४–१को जित निकाल्दै सातदोबाटो शीर्ष स्थानमा उक्लिइको हो।

तीन खेलमा सातदोबाटोले २ जित र १ बराबरीसहित कुल ७ अंक जोडेको छ। पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग बरारबी खेलेको सातदोबाटोले दोस्रो खेलमा बलियो थ्री स्टार क्लबलाई १–०ले हराएको थियो। तीन वटै खेलमा पराजित भएको एपिएफ पुछारमा छ।

तेस्रो खेलमा विभागीय टिम एपिएफविरुद्ध जित दिलाउन नाइजेरियन स्ट्राइकर अजयी मार्टिन्सले ह्याट्रिक गरे भने सुशील राईले एक गोल गरे । एपिएफका बिकी तामाङले गोल गरेका थिए।

वर्षाबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा एपिएफविरुद्ध सातदोबाटोले २ गोल गरेको थियो । उसका मार्टिन्सले ४२ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए । उनले नै इन्जुरी समयमा गोल गरेपछि सातदोबाटोले पहिलो हाफमा २–०को अग्रता लियो ।

पहिलो हाफमा दुई गोलले पछि परेको एपीएफले दोस्रो हाफको सुरुआतमै गोल फर्कायो । ४७ औं मिनेटमा एपीएफका आशिष लामाको पासमा बिकीले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए।

तर ५० औं मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई ३–१ को अवस्थामा ल्याए। सुशीलले निरज चौधरीको पासमामा गोल गरेका थिए। ५८औं मिनेटमा मार्टिनले गोल गर्दै टिमलाई ४–१ को अवस्थामा ल्याए भने आफ्नो ह्याट्रिक पुरा गरे । उनी जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने।