कीर्तिपुरस्थित टियू मैदानमा हुने नेपाल र नामिबियासँगको त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्ड आफ्नो टिम घोषणा गरेको छ। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजका लागि स्कटल्यान्डले १५ सदस्यीय टिम घोषणा गरेको हो।
रिची बेरिङटनको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय टिममा दुई नयाँ खेलाडीलाई पनि समावेश गरिएको छ। टिममा युवा खेलाडी ज्याक जर्भिस र लिएन नेयलरले मौका पाएका छन्।
नेपाल, स्कटल्यानड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज फेब्रुअरी १४ देखि २१ सम्म टियू मैदानमा हुनेछ। नेपाल र नामिबियाले भने टिम घोषणा गरिसकेका छैनन्।
प्रशिक्षक शान बर्जरका लागि स्कटल्याण्डको प्रशिक्षकको रुपमा यो अन्तिम टुर हुनेछ । यसपछि उनी समरसेटको ब्याटिङ र सहायक प्रशिक्षकको भूमिकामा देखिनेछन् ।
स्कटल्याण्ड लिग २ मा आफ्नो अन्तिम शृंखला खेल्दैछ । ३२ खेल खेल्दै ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको स्कटल्याण्ड आईसीसी ओडिआई विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भइसकेको छ। नेपाल भने २४ खेलबाट १८ अंकसहित सात टिम मध्ये छैटौं स्थानमा छ । नामिबिया ३० खेलबाट ३७ अंकसहित तेस्रो स्थानमा छ ।
स्कटिस टिम ः रिची बेरिङटन, काएल कोएथ्जर, म्याट क्रस, क्रिस ग्रिभ्स, ज्याक जर्भिस, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्रिड, ब्रान्डन म्याकमुलेन, जर्ज मुनसे, लियम नेयलर, सफयान शरिफ, क्रिस सोल, हम्जा ताहिर, मार्क वाट ।