स्पेन सर्बिया र क्रोएसियन कतारमा अर्को वर्ष आयोजना हुने विश्वकपमा छनोट भएका छन् । कतार विश्वकप अन्तर्गतको युरोपियन छनोटको आइतबार राति भएको खेलमा जित निकाल्दलै स्पेन, सर्विया र क्रोएसिया विश्वकपमा छनोट भएका हुन्।
आइतबार राति भएको खेलमा स्पेनले स्विडेनलाई १–० ले हराउँदा सर्बियाले पोर्चुगललाई २–१ले हरायो । यो हारले पोर्चुगल सिधै विश्वकपमा छनोट हुन असफल भएको छ । विश्वकपमा पुग्न उसले प्लेअफ खेल्नुपर्ने छ।
समूह बीको खेलमा अल्भारो मोराटाले प्रतिस्पर्धाको अन्त्यतिर निर्णायक गोल गरे । यो समूहबाट अब स्विडेनले प्लेअफ खेल्नेछ । यस्तै, समूह एमा सर्बियाले पोर्चुगललाई २–१ ले हरायो । एलेक्सान्जर मिट्रोभिचले खेलको ९० औं मिनेटमा नाटकीय विजयी गोल गरे ।
यस्तै, गत संस्करणको उपविजेता क्रोएसिया पनि विश्वकपमा छनोट भएको छ। आइतबार राति भएको खेलमा क्रोएसियाले रुसमाथि १–०को जित निकाल्दै कतारको यात्रा तय गरेको हो। क्रोएसियासँग हारेको रुसले भने अब प्लेअफ खेल्ने छ।
अहिलेसम्म आयोजक कतारसँगै नौ टिम विश्वकपका लागि छनोट भएका छन् । त्यसमा स्पेन र सर्बियासँगै जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम र क्रोएसिया रहेका छन् ।