सेरेना युएस ओपनको क्वार्टरफाइनलमा

सुरुआती झट्का निस्तेज पार्दै अमेरिकी सेरेना विलियम्सले आइतबार यूएस ओपनको अन्तिम १६ को यात्रा तय गरेकी छन्  । यसका लागि उनले आफ्नै देशकी सलोनी स्टेफन्सलाई २–६, ६–२, ६–२ ले हराइन्  ।

न्युयोर्कमा तेस्रो वरीयताप्राप्त सेरेनाले पहिलो सेट गुमाएपछि खेलमा उत्कृष्ट पुनरागमन गरिन् । सन् २०१३ को अस्ट्रेलियन ओपनमा सलोनीले सेरेनालाई हराउँदै सनसीपूर्ण रूपमा सेमिफाइनल यात्रा तय गरेकी थिइन् । त्यतिबेला सलोनी १९ वर्षकी किशोरी थिइन् । सन् २०१७ मा भने उनी यूएस ओपनकी विजेता पनि रहिन् । न्युयोर्कमा उनलाई २६ औं वरीयताप्राप्त थियो ।

खेलपछि सेरेनाले आजको खेलमा गाह्रो भएको र सलोनीविरुद्ध खेल्दा अधिकांश समय बढी मिहिनेत गर्नुपरेको बताइन् । उनले पहिलो सेटमा आफूले खासै गल्ती नगरे पनि सलोनीले उत्कृष्ट खेलेका पहिलो सेट गुमाउनु परेको बताइन् ।

३८ वर्षीया सेरेना कीर्तिमान बराबरी हुने २४ औं ग्रान्ड स्लाम जित्ने अभियानमा छिन् । अब उनले क्वाटरफाइनल प्रवेशका लागि १५ औं वरीयताकी मारिया साकारीको समाना गर्नेछिन् ।

साकारी तिनै खेलाडी हुन्, जसले यूएस ओपनको तयारीका रूपमा भएको वेस्टर्न एन्ड साउथर्न ओपनमा सेरेनालाई हराएकी थिइन् । सेरेनाले अन्तिम पटक सन् २०१७ मा अस्ट्रेलियन ओपन जितेकी थिइन् ।

बुल्गेरियाकी स्भेटाना पिरोन्कोभाले १८ औं वरीयता प्राप्त डोना भेकिचलाई ६–४, ६–१ ले हराइन् । अहिलेसम्म कुनै सेट नगुमाएकी पिरोन्कोभाले अर्को चरणमा फ्रान्सकी एलिज कोर्नेटको सामना गर्नेछिन् । कोर्नेटले भने मेडिसन केयसविरुद्धको खेलमा विजयी रहिन् । खेल ७–६, ३–२ ले कोर्नेटको पक्षमा रहेको बेला घाँटीको चोटका कारण केयसले खेल छाडेकी थिइन् । बेलारुसकी भिक्टोरिया अजारेन्काले इगा स्वाटेकलाई ६–४, ६–२ ले हराइन् ।

पुरुषतर्फ गत वर्षका उपविजेता रुसी खेलाडी डानिल मेडभेडेभ भने प्रतियोगिताको तेस्रो चरण पुगेका छन् । उनले अमेरिकी खेलाडी जेजे उल्भसलाई ६–३, ६–३, ६–२ ले हराए । उनले अब अमेरिकाका फ्रान्सेस टिफोएविरुद्ध खेल्नेछन् । टिफोएले भने हंगेरीका मार्टन कसोभिचलाई ६–२, ६–३, ६–२ ले हराए । दोस्रो वरीयताप्राप्त डोमिनिच थिएमले भने मारिन सिलिचलाई ६–२, ६–२, ३–६, ६–३ को सेटमा पन्छाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *