पहिले सेट गुमाएको स्थितिबाट संघर्ष गर्दै सेरेना विलियम्सले बुधबार स्टेभटाना पिरोनकोभालाई हराएर यूएस ओपनको सेमिफाइनल यात्रा तय गरेकी छिन् । आफ्नो २४ औं ग्रान्ड स्लाम उपाधिको पछाडि रहेकी सेरेना ४–६, ६–३ र ६–२ ले विजयी रहिन् ।
बुल्गेरियाकी गैरवरीयता प्राप्त पिरोनकोभाले कठिन चुनौती पेस गरेपछि ६ पल्टकी यूएस ओपन विजेता सेरेनाले कडा मिहिनेत गर्नु परेको हो । खेलपछि उनले भनिन्, ‘म अहिले यहाँ उभिरहेकी छु् र यसमा मलाई गर्व छ, किनभने आजको खेलमा क्रममा त्यो स्थिति पनि आएको थियो, जहाँबाट म पराजित हुन सक्थें ।’
उनले आफू कहिले पनि हार नमान्ने र जितका लागि संघर्ष गरिरहने खालेका खेलाडीको भएको बताइन् । सोही कारण आजको जित सम्भव भएको उनले तर्क गरिन् ।
सेरेनाविरुद्धका सबै ५ खेल गुमाएकी पिरोनकोभाले यसपल्ट न्युयोर्कमा आश्चर्यजनक यात्रा तय गरिन् । सन् २०१७ यता पहिलो व्यावसायिक टेनिस प्रतियोगिता खेलिरहेकी पिरोनकोभा तीन वर्ष सक्रिय टेनिसबाट टाढा रहिन् । सन् २०१८ मा आमा हुने क्रममा उनले खेल्न छाडेकी थिइन् ।पहिलो सेट जितेर सेरेनाविरुद्ध उनले अप्रत्यासित नतिजाको सम्भावना पनि तयार पारेकी थिइन् ।
पुरुषतर्फ गत वर्षका उपविजेता डानिल मेडभेडेभ पनि सेमिफाइनल पुग्न सफल भएका छन् । यसका लागि उनले आफ्ना रुसी साथी खेलाडी आन्द्रे रुबलेभलाई ७–६ ९८र६०, ६–३, ७–६ ९७र५० ले पराजित गरे । अब फाइनल प्रवेशका लागि उनले दोस्रो वरीयताका डोमिनिक थिएमको सामना गर्नेछन् ।