प्रतिस्पर्धात्मक खेलमा बायर्न विजयी

जर्मन बुन्डेस लिगामा बार्यन म्युनिख विजयी भएको छ। लिगमा पहिलो जित निकाल्ने क्रममा आइतबार राति भएको खेलमा बायर्नले कोल्नमाथि ३–२को संघर्षपूर्ण जित निकाल्यो। लिगको पहिलो खेलमा बायर्न बोरुसिया मोन्चेनग्लाडबाचसँग बराबरीमा रोकिएको थियो।

बार्यनको जितमा सर्जी गनाब्रीले २ गोल गरे भने रोबर्ट लेवान्डोस्कीले एक गोल गरे। कोल्नका एन्थोनी मोडेस्टे र मार्क उथले गोल गरेका थिए।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा १२ मिनेटमा ४ गोल भएपछि खेल रोमाञ्चक बनेको थियो।

५०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै घरेलु मैदानमा बार्यनलाई सुरुआती अग्रता दिलाए । उनले जमल मुसिआलाको पासमा गोल गरेका थिए। त्यसपछि ५८औं मिनेटमा गनाब्रीले गोल गर्दै बार्यनको अग्रता दोब्बर बनाए।

तर, २ मिनेट अन्तरमा कोल्नले २ गोल गर्दै खेललाई थप रोमाञ्चक बनायो । उसका मोडेस्टेले ६०औं मिनेटमा हेक्टारको पासमा गोल गरेका थिए। यस्तै, ६२औं मिनेटमा उथले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा आयो।

त्यसपछि ७१अचैं मिनेटमा गनाब्रीले नै गोल गर्दै बार्यनलाई पुनः अग्रता दिलाए। उनले जेसुआ किमिचको पासमा गोल गरेका थिए । त्यसपछि कुनै गोल नहुँदा बायर्न विजयी भयो।