रेलिगेसन जोनको बेनेभेन्टोसँग युभेन्ट्स घरमै पराजित

डिफेन्डिङ च्याम्पियन युभेन्ट्स घरेलु मैदानमै पराजित भएको छ। आइतबार राति भएको खेलमा गोलका सुन्दर अवसर चुकाउँदा युभेन्ट्स बेनेभेन्टोसँग १–० ले पराजित भयो ।

बेनेभेन्टोलाई जित दिलाउन एडोल्फो गाइचले निर्णायक गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। बेनभेन्टोमाथि निरन्तर दबाब दिए पनि युभेन्ट्सले गोल गर्न सकेन। बेनेभेन्टोको किपरले उत्कृष्ट बचाउ गरे भने अल्भारो मोराटाले सुन्दर अवसर खेर फाले।

तर ६९ औं मिनेटमा एडोल्फोले निर्णायक गोल गरे । उनले युभेन्ट्सका अर्थुर मेलोको दिएको ब्याकपासमा गोल गरेका थिए। खेलकाे अन्त्यतिर डानिलाेले गाेलकाे सुन्दर अवसर गुमाएका थिए।

युभेन्ट्सले २७ खेलबाट ५५ अंकसहित तेस्रो स्थानमा यथावत छ । बेनेभेन्टो २८ खेलबाट २९ अंक जोड्दै १६ औं स्थानमा रहेको छ ।

अर्को खेलमा एट्लान्टाले हेलास भेरोनालाई २-० ले पराजित गर्दै युभेन्ट्स समान ५५ अंक जोडेको छ । तर गोलअन्तरमा पछि रहेको एटलान्टा चौथो स्थानमै छ । एटलान्टाको जितमा रुस्लान मालिनोभ्स्की र डुभान जापाटाले गोल गरे ।