इटालीको टप डिभिजनको फुटबल लिग सिरि ‘ए’ आज (शनिबार) बाट सुरु हुँदैछ। युरोपका शीर्ष पाँच लिगमध्ये सिरि ‘ए’ सबैभन्दा अन्तिममा सुरु हुन लागेको हो। अन्य शीर्ष लिगहरु इंग्ल्यान्डको इंग्लिस प्रिमियर लिग, स्पेनको ला लिगा, जर्मनीको बुन्डेसलिगा र फ्रान्सको लिग–वान यसअघि नै सुरु भइसकेका छन्।
यस सिजनको सिरि ‘ए’ गत सिजनभन्दा निकै रोमाञ्चक हुने विश्वास गरिएको छ। गत सिजनको च्याम्पियन इन्टर मिलान यसपटक धराशायी अवस्थामा देखिएको छ। सदाबहार दाबेदार तथा कीर्तिमानी च्याम्पियन युभेन्टस पनि आफ्ना स्टार खेलाडी रोनाल्डोका बारेमा आइरहेका ट्रान्सफरका हल्लाले ठिक मुडमा छैन।
र, जोसे माउरिन्हो प्रशिक्षकका रुपमा रोमा आएका छन्। यस सिजनको सिरि ‘ए’लाई रोमाञ्चक बनाउन यति मात्रै पनि काफी छ।
इटालीले युरोकप २०२० को उपाधि जित्दै सिजन ब्रेक निकै सुखद् रुपमा मनायो। इटालीका फुटबल फ्यानहरुले ५३ वर्षपछि युरोपको च्याम्पियन बनेको खुशीयाली मनाउन पाए।
तर, अब सिरि ‘ए’ सुरु भएसँगै इटालियन फुटबलका फ्यानहरुले राष्ट्रिय टिमले दिएको खुशीलाई साबिक स्थानमै छाडेर क्लबतिर ध्यान मोड्ने बेला आएको छ। केही क्लबको अवस्था आशावादी रहन सकिने किसिमको छ भने केही आशा गरिएका क्लबहरु धराशायी अवस्थामा छन्।
डिफेन्डिङ च्याम्पियन इन्टर दाबेदार समेत नरहने संकेत
डिफेन्डिङ च्याम्पियन इन्टर मिलानलाई भने यो सिजन दाबेदारी प्रस्तुत गर्न पनि हम्मेहम्मे पर्न सक्ने देखिएको छ। गत सिजन ११ वर्षको प्रतिक्षापछि इन्टर इटालीको च्याम्पियन बनेको थियो। त्यतीबेला फ्यानहरुले मिलानको पियाजा डेल डुवोमोमा भव्य खुशीयाली मनाउँदै उत्साहजनक रुपमा सिजनको अन्त्य गरेको थियो।

तर, गत सिजन च्याम्पियन बनाएका म्यानेजर एन्टोनियो कोन्टेले क्लब छाडिसकेका छन्। च्याम्पियन बनाउने क्रममा सर्वाधिक गोल गरेका इन्टरका स्ट्राइकर रोमेलु लुकाकु पनि क्लब छाडेर यरोपियन च्याम्पियन चेल्सीमा अनुबन्ध भइसकेका छन्।
त्यसैले सिजनको सुरुवात नहुँदै इन्टरका फ्यानहरुले क्लबको विरोध सुरु गरिसकेका छन्। लुकाकुले च्याम्पियन बनाएपछि उनको सम्मानमा मिलानका भित्ताहरुमा कोरिएका उनका मुरालमा कालो पोत्न सुरु भइसकेको छ। उनी पछि फर्ममा रहेका अर्का स्ट्राइकर लाउटारो मार्टिनेजले पनि क्लब छाड्ने सम्भावना बढ्दै गएपछि इन्टरको टाउको दुखाइ पनि बढेको छ।
उत्कृष्ट प्रदर्शन गरेका राइटब्याक असरफ हाकिमीले पनि यो सिजन इन्टर छाडेर पिएसजी रोजे। मिडफिल्डका सबैभन्दा भरपर्दा खेलाडी क्रिस्टेन एरिक्सन युरोकपमा भएको दुर्घटनापछि अझै आराम गरिरहेका छन्। उनी मैदानमा कहिले फर्कन्छन् वा फेरि खेल्न नपाउने हुन्, केही टुंगो छैन।
युभेन्टसलाई रोनाल्डोको भर
हरेक ट्रान्सफर विन्डोमा रोनाल्डोले चर्चा पाउँछन्। उनले क्लब छाडेपनि नछाडे पनि उनका बारेमा अनेक समाचार बन्छन्। यो सिजन अप्रत्याशित रुपमा मेसी बार्सिलोना छाडेर पिएसजी गएपछि युभेन्टस पनि रोनाल्डोलाई लिएर पीर मान्न थालेको हो।
त्यसमाथि रोनाल्डो रियल नै फर्किनसक्ने गाइँगुइँले आगोमा घिउ थप्ने काम गरेको छ। तर, रोनाल्डोले सबै ट्रान्सफरका हल्लाहरुको खण्डन गरेपछि भने युभेन्टसले अहिल ढुक्कको सास फेरेको छ।

युभेन्टस २०११ देखि २०२० सम्म लगातार ९ सिजन इटालीको च्याम्पियन बनेको थियो। तर, गत सिजन भने इन्टरले उपाधि उचाल्दै युभेन्टसको ‘भिक्ट्र परेड’मा ब्रेक लगाइदियो। युभेन्टस यो सिजन फेरि इटालीको च्याम्पियन बन्दै आफ्नो अधिपत्य फिर्ता लिन चाहन्छ।
त्यसका लागि रोनाल्डो उसको सबैभन्दा मुख्य हतियार हुन्। रोनाल्डोका अलावा इटालीलाई युरोकप जिताउन महत्वपूर्ण भूमिका खेलेका फेडेरिको किएजाबाट पनि युभेन्टसलाई ठूलो आशा छ। भर्खरै सासुलोबाट म्यानुअल लोकाटेलीलाई पनि अनुबन्ध गर्दै युभेन्टसले आफ्नो नियत प्रस्ट बनाइसकेको छ।
सामान्यतः सिरि ‘ए’ गोल गर्न सबैभन्दा गाह्रो युरोपियन लिग हो। त्यसैले युभेन्टस युरोपका उत्कृष्टमध्येका फरवार्ड टिममा राखेर हरेक टिमविरुद्ध गोल हान्दै फेरि च्याम्पियन बन्ने दाउमा छ। युरो विजेता जर्जियो किलेनी र लियोनार्दो बोनुचीले सम्हालेको युभेन्टसको डिफेन्स तोडेर गाल हान्न भने विपक्षीलाइ गाह्रै हुनसक्छ।
माउरिन्हो आएपछि रमाएको रोमा
गत सिजनको बीचतिरै टोटेनह्यामबाट बखास्त भएका जोसे माउरिन्होलाई प्रशिक्षकका रुपमा रोमाले अनुबन्ध गरेपछि सिरि ‘ए’को चहलपहल बढेको छ। माउरिन्होले चेल्सीबाट ट्यामी अब्राहमलाई रोमामा अनुबन्ध गर्दै सबैलाई आफ्नो योजनाको संकेत देखाइसकेका छन्।
उनको आगमनले रोमा फेरि लिगको दाबेदार बन्न सफल भएको छ। त्यसमाथि क्लबको बोर्डले पनि ट्रान्सफरमा निकै रकम खर्चिन तयार रहेको देखाएपछि क्लबमा बेग्लै उत्साह छाएको छ।
खुंखार प्रशिक्षकहरुको निर्मम परीक्षा
अहिले सिरि ‘ए’मा तीनजना खुंखार प्रशिक्षकहरु छन्, माउरिन्हो, मासिमिलियानो एलेग्री र माउरिजियो सारी। तीनैजना प्रशिक्षक पछिल्लोपटक सिरि ‘ए’मा रहँदा च्याम्पियन बन्न सफल भएका थिए।
च्याम्पियनका रुपमा लिग छाडेका यी तीन प्रशिक्षक फेरि त्यही चुनौती आत्मसात गर्दै इटाली फर्किएका हुन्। यसले पनि यसपालिको सिरि ‘ए’लाई विशेष बनाएको छ। एलेग्री युभेन्टसमै फर्किएका छन् भने सारीले लाजियो सम्हालिरहेका छन्।
सिरि ‘ए’ मा सहभागी हुने २० वटामध्ये १२ वटा टिमले यो सिजन प्रशिक्षक फेरेका छन्। गत सिजनका शीर्ष सात टिममध्ये एटलान्टाका गियान पिएरो गास्पेरिनी र एसी मिलानका स्टेफानो पिओलीबाहेक कुनै टिमका प्रशिक्षकले पनि आफ्नो जागीर जोगाउन सकेनन्।
‘ओपनिङ डे’
सिरि ‘ए’ को पहिलो दिन चारवटा खेलहरु हुनेछन्। सुरुवाती खेलमा च्याम्पियन इन्टर मिलानलाई जेनोवाले चुनौती दिनेछ भने सोही समयमा भेरोना र सासुलोबीच पनि खेल हुँदैछ।
यस्तै अर्को खेलमा लाजियो र एम्पोली भिँड्दा टोरिनोले एट्लान्टाको सामना गर्दैछ। सुरुवाती दुई खेल आज नेपाली समयअनुसार राती १०ः१५ मा सुरु हुँदैछन् भने बाँकी खेल राती १२ः३० मा हुनेछन्।
युभेन्टसले भने आइतबार मात्र लिगको पहिलो खेल खेल्नेछ। आइतबार १०ः१५ मा हुने पहिलो खेलमा युभेन्टसले युडिनिजको चुनौती सामना गर्नेछ। सोही समय बोलोग्ना र सलेर्नितानाबीच पनि खेल हुनेछ।