भिनिसियसको २ गोलमा रियलको सहज जित

च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडले सहज जित निकालेको छ। मंगलबार राति किभमा भएको खेलमा ब्राजिलियन युवा स्ट्राइकर भिनिसियस जुनियरले २ गोल गरेपछि रियलले युक्रेनी क्लब सख्तर डोनेस्कमाथि ५–०को सहज जित निकाल्यो।

रियलको जितमा भिनिसियस जुनियरले दुई गोल गरे भने रोड्रिगो र करिम बेन्जिमाले एकरएक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको ३७औं मिनेटमा साख्तरका सेर्ही क्रिभ्टसोभले आत्मघाती गोल गरेपछि रियलले अग्रता बनाएको थियो । पहिलो १–०मै सकिएको खेलमा दोस्रो हाफमा रियलले थप ४ गोल गरेको थियो।

त्यसपछि ५१औं मिनेटमा लुका मोड्रिचको पासमा गोल गर्दै भिनिसयसले रियलको अग्रता दोब्बर बनाए । ५६औं मिनेटमा भिनिसियसले नै गोल गर्दै रियललाई ३–०को अवस्थामा ल्याए। त्यसपछि ६४औं मिनेटमा रोड्रिगो र इन्जुरी टाइममा बेन्जिमाले गोल गरेपछि रियल ५–०ले विजयी भयो।

समूह बी कै अर्को खेलमा इन्टर मिलान विजयी भयो । उसले माल्दोभाको क्लब सेरिफलाई ३–१ले हरायो । इन्टरका लागि इडेन जेको, अर्टुरो भिडाल र स्टेफन डि भर्जले गोल गरेका थिए। सेरिफका सेवास्टियन थिलले गोल गरेका थिए।

दोस्रो जितपछि रियल समूह बी मा ६ अंक जोडेर दोस्रो स्थानमा छ भने साख्तर डोनेस्क एक अंक जोडेर पुछारमा रहेको छ । हारपछि पनि सेरिफ ६ अंकसहित शीर्ष स्थानमै छ रहँदा ४ अंक जोडेको इन्टर तेस्रो स्थानमा छ ।