°
, May 29, 2023 in

आइपिएलमा गुजरात टाइटन्सको विजयी सुरुआत

SHARE:

आइपिएलको नयाँ टिम गुजरात टाइटन्सले प्रतियोगिताको सुरुआत जितका साथ गरेको छ। सोमबार भएको लिगको पहिलो खेलमा अर्को नयाँ टिम लखनउ सुपरजाइन्ट्सलाई ५ विकेटले हराउँदै गुजरागतले विजयी सुरुआत गरेको हो।

सोमबार मुम्बईस्थित बन्खाडे रंगशालामा भएको खेलमा लखनउले दिएको १५९ रनको लक्ष्य गुजरातले १९.४ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। उसका लागि अलराउन्डर राहुल तिवेटियाले सर्वाधिक ४० रन बनाए । उनले २४ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

यस्तै, कप्तान हार्दिक पाण्ड्याले ३३ रन बनाउँदा म्याथु वाडे र डेविड मिलरले समान ३० रन बनाए। लखनउका दुशमन्था चामीराले २ तथा आभेस खान, कुर्नाल पाण्ड्या र दीपक होडाले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको लखनउले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनायो। २९ रन बनाउँदै ४ विकेट गुमाएको लखनउका लागि दीपक हुडा र आयुष बदोनीले अर्धशतक बनाएपछि उसले चुनौतीपूर्ण स्कोर बनायो।

हुँडा र बदोनीले पाँचौं विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए। हुडाले ४१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५५ रन बनाउँदा बदोनीले ४१ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५४ रन बनाए। बदोनीले आइपिएलको डेब्यूमै अर्धशतक बनाए ।

यस्तै, कुर्नाल पाण्ड्याले १३ बलमा २१ रन बनाउँदा इभान लेविसले १० रन बनाए। गुजरातका मोहम्मद सामीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए भने वरुण आरोनले २ विकेट लिए।

आइपिएल अन्तर्गत मंगलबार राजसस्थान रोयल्सले सनराइजर्स हैदरावदको सामना गर्नेछ।

SHARE: