चेन्नईको दोस्रो जित, पञ्जाव १० विकेटले पराजित

इन्डियन प्रियिमर लिग (आईपिएल)मा चेन्नई सुपर किंग्सले दोस्रो जित निकालेको छ । आइतबार राति दुबईमा भएको खेलमा चेन्नईले किंग्स इलावेन पञ्जावमाथि १० विकेटको सहज जित निकाल्यो ।

पहिला ब्याटिङ गर्दै पञ्जावले दिएको १७९ रनको लक्ष्य चेन्नईले १७.४ ओभरमा विनाक्षति भेट्टायो । उसका लागि ओपनरद्वय सेन वाट्सन र फाफ डु प्लेसिसले १८१ रनको सझेदारी गरे ।

फाफ डु प्लेसिसले सर्वधिक ८७ रन बनाए भने वाट्सन ८३ रनमा नटआउट रहे । डु प्लेसिसले ५३ बलमा ११ चौका र १ छक्क प्रहार गरे भने वाट्सनले ५३ बलमा ११ चौका र ३ छक्का प्रहार गरे ।

टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाबले कप्तान केएल राहुलको अर्धशतकीय योगदान मद्दतमा ४ विकेटको क्षतिमा १७८ रन बनायो । निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका राहुलले ५२ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गर्दै ६३ रन बनाए ।

यस्तै, निकोलस पुरनले १७ बलमा ३३, मनदीप सिंहले १६ बलमा २७, मायंक अग्रवालले १९ बलमा २६ रन बनाए । चेन्नईका शार्दुल ठाकुरले २ तथा रविन्द्र जडेजा र पियुस चावलाले समान १ विकेट लिए ।