युएईमा जारी १३औं संस्करणको आईपिएलमा दिल्ली क्यापिटल्सले लागतार दोस्रो जित हात पारेको छ । शुक्रबार राति दुबईमा भएको खेलमा चेन्नईलाई ४४ रनले पराजित गर्दै दिल्लीले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।
दिल्लीले पहिलो खेलमा किंग्स इलावेन पञ्जावलाई सुपर ओभरमा पराजित गरेको थियो । यता, चेन्नईको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको चेन्नई दोस्रो खेलमा राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो ।
दुबईमा भएको खेलमा दिल्लीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३१ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि फाफ डु प्लेसिसले सर्वाधिक ४३ रन बनाए भने केदार जाधवले २४, कप्तान महेन्द्रसिंह धोनीले १५ र सेन वाट्सनले १४ रन बनाए ।
चेन्नईलाई रोक्ने क्रममा दिल्लीका सबै बलरले उत्कृट बलिङ गरे । कागिसो रबाडाले सर्वाधिक ३ विकेट लिए भने अनरिच नोर्टजेले २ र अक्षर पटेलले १ विकेट लिए । रबाडाले ४ ओभरमा २६ रन, नोर्टजे २१ र पटेलले १८ रन मात्र खर्चिए ।
यसअघि टस जितेर चेन्नईले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको दिल्लीले ओपनर पृथ्वी शको अर्धशतक मद्दतमा ३ विकेटको क्षतिमा १७५ बन बनायो । उनले ४३ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६४ रन बनाए । यस्तै, ऋषव पन्तले ३७, शिखर धवनले ३५ र कप्तान श्रेयस ऐयरले २६ रन बनाए । चेन्नईका पियुष चावलाले २ र साम कुरानले १ विकेट लिए ।
शनिबार अबुधाबीमा हुने खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने छन् । दुवै टिम पहिलो जितको खोजिमा हुने छन् ।