गल्फर श्याम तामाङले शनिबार टप अफ द वर्ल्ड गल्फ क्लासिकको उपाधि लगातार दोस्रो पटक जितेका छन् । मुस्ताङ गल्फ कोर्समा स्टेबलफोर्ड फुल ह्यान्डीक्याप फर्म्याटमा भएको ९ होलको प्रतियोगितामा साबिक विजेता श्यामले १९ अंकसहित उपाधि रक्षा गरे । उनले लीलाजंग गुरुङलाई हराए । उनले १८ अंक बटुल्दै दोस्रो स्थान हात पारे ।
ग्रसतर्फ रविन रानाले काउन्ट ब्याकमा उपाधि जिते । ११ अंकमा याम राणा र पीबी राईसँग रविनको बराबरी भएपछि विजेता छिनोफानो काउन्ट ब्याकका आधारमा भएको थियो । महिलातर्फ जुनी गुरूङले उपाधि जितिन् । उनले १५ अंक जोडिन् । सुष्मा सिंह १३ अंकसहित उपविजेता बनिन् । सिनितरतर्फ १६ अंकसहित बलराम थापा विजेता भए । मेजर विजय मोक्तानले क्लोजेस्ट टु द पिन, माधव सिम्खडाले लङ्गेस्ट ड्राइभ र आत्मराम सिम्खडाले मोस्ट बर्डिजको उपाधि जिते ।
लोमाङथानस्थित ४ हजार ६ सय ५० मिटर उचाइमा भएको प्रतियोगितामा ४ महिलासहित २८ गल्फरको सहभागिता थियो । विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको यो गल्फ कोर्स गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा दर्ज गर्ने प्रक्रियामा रहेको मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले बताए । उनले गल्फबाट लोमान्थाङलाई चिनाउने र विश्वकै गल्फ पर्यटनलाई आकर्षित गरेर यो क्षेत्रको व्यापार व्यवसाय र रोजगारीसमेत टेवा पुग्ने जिकिर गरे । गत वर्ष नै यो गल्फ कोर्सको उद्घाटन भएको थियो ।
मुस्ताङ गल्फ कोर्सद्वारा आयोजित प्रतियोगिताका विजेतालाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरुङ, उपाध्यक्ष छिमी विष्ट, नेपाल गल्फ संघका उपाध्यक्ष पवित्रकुमार कार्की, लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोब्साङ छोम्पेल विष्ट र मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले पुरस्कार प्रदान गरेका थिए ।