नेपाली राष्ट्रिय क्रिकेट टिमकी अलराउन्डर सीता रानामगरले हङकङमा क्रिकेट खेल्ने भएकी छिन् । सीताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसिसीबाट मान्यता प्राप्त हङकङका टि–२० क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्ने भएकी हुन्।
प्रतियोगिता मे १ देखि १५ सम्म आयोजना हुनेछ। प्रतियोगितामा छ टोली सहभागी हुने छन्। सीताले प्रतियोगिता खेल्ने भएपनि उनी कुन टिमबाट खेल्ने भन्ने विषय आयोजकले निर्धारण गर्नेछ।
फेयर ब्रेक इन्भिटेसनल खेल्ने पक्का भएसँगै उनी विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेटर भएकीछिन्।
२००७ जुलाई १२ मा थाईल्यान्डविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी सीताले निरन्तर क्रिकेट खेल्दै आएकी छन्। अघिल्लो साता यूएईमा सम्पन्न आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा उनले पाँच खेलमा १०० रन बनाउनुका साथै छ विकेट लिँदै प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन्।