नेपाली महिला क्रिकेट टिम टि–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने असफल भयो । तर, नेपाली महिला टिमकी सीता रानामगर भने प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेकी छिन् ।
एसियन छनोटअन्तर्गत आइतबार भएको खेलमा युएईसँग पराजित भएपछि नेपाली महिला टिम ग्लोबल क्वालिफायरमा पुग्न असफल भएको थियो । नेपाल ग्लोबल क्वालिफायरमा नपुगेपनि प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गरेकी सीता रानामगर ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएकी हुन् ।
६ राष्ट्र सहभागी प्रतियोगिताको अन्तिम खेलमा घरेलु टोली यूएईलाई जित्नैपर्ने अवस्थामा रहेको नेपाल ४८ रनले पराजित भएको थियो । नेपालले तेस्रो स्थानमा रहँदै प्रतियोगिता सकाएको छ ।
सीताले प्रतियोगितामा नेपालको तर्फबाट पाँच खेलमा सर्वाधिक १०० रन बनाइन् भने बलिङमा ६ विकेट लिएकी थिइन् । उनी सर्वाधिक रन बनाउनेमा १०औं स्थानमा रहिन् । यस्तै बलिङतर्फ उनी सर्वाधिक विकेट लिनेमा पाँचौ स्थानमा रहिन् ।