जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगितामा सहभागी श्रीलंकन महिला क्रिकेट टोलीका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै श्रीलंका क्रिकेट बोर्डले आफ्ना ६ खेलाडीमा संक्रमाण देखिएको जनाएको छ।
कोरोना पोजिटिभ देखिएका खेलाडीहरू ओमिक्रोन भेरियन्टबाट संक्रमित भएका हुन् या होइनन् भन्ने कुरा अझै खुलाइएको छैन।
श्रीलंकन टिमकै एक सदस्यमा कोरोना संक्रमण देखिएको र दक्षिण अफ्रिका ओमिक्रोन भेरियन्टको संक्रमित भेटिएपछि आईसिसीले विश्वकप छनोट प्रतियोगिता भने शनिबार नै रद्द गरिसकेको थियो ।
श्रीलंकन टिम अझै जिम्बाबेमै छ । श्रीलंकन टिमलाई सकेसम्म चाँडो श्रीलंका फिर्ता ल्याइने श्रीलंका क्रिकेट बोर्डले जनाएको छ। संक्रमित खेलाडीहरु कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ नआएसम्म त्यहाँ बस्नुपर्नेछ।
छनोट रद्द भएपछि आईसीसीले बंगलादेश, पाकिस्तान र वेस्टइन्डिजले अर्को वर्ष न्यूजिल्यान्डमा हुने विश्वकपमा खेल्ने बताएको छ। यी तीन टोलीबाहेक न्यूजिल्यान्ड, अष्ट्रेलिया, भारत, इंग्ल्याण्ड र दक्षिण अफ्रिका विश्वकपमा छनोट भइसकेका छन्।