कोरियन स्ट्राइकर सन ह्युङ मिनको ह्याट्रिक मद्दतमा इंग्लिस प्रिमियर लिगमा टोटनहम विजयी भएको छ। शनिबार राति भएको खेलमा सनले ह्याट्रिक गरेपछि टोटनहमले एस्टन भिल्लामाथि ४–० को जित निकाल्यो।
टोटनहमका लागि सनको ह्याट्रिकसँगै डेजन कुलुसेभ्स्कीले पनि गोल गरे। तेस्रो मिनेटमा सनको गोलमा टोटनहमले अग्रता लियो।
पहिलो हाफमा १–०को अग्रता लिएको टोटनहमले दोस्रो हाफमा ३ गोल थपेको थियो । ५०औं मिनेटमा कुलुसेभ्स्कीले ह्यारी केनको पासमा गोल गर्दै टोटनहमको अग्रत दोब्बर बनाए ।
६६औं मिनेटमा सनले गोल गर्दै टोटनहमलाई ३–०को अवस्थामा ल्याए । उनले पनि केनकै पासमा गोल गरेका थिए । ७१औं मिनेटमा सनले कुलुसेभ्स्कीको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि कुनै गोल नहुँदा टोटनहम ४–०ले विजयी भयो।
यसैगरी अर्को खेलमा दुई ठूलो क्लब म्यान्चेस्टर युनाइटेड र आर्सनल भने पराजित भएका छन्। शनिबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड एभर्टनसँग १–०ले पराजित हुँदा आर्सनल घरेमै ब्राइनटनसँग २–१ले पारजित भयो ।
यता, चेल्सीले भने साउथ ह्याम्पटनमाथि ६–०को फराकिलो जित निकाल्यो । उसका लागि टिमो वेर्नर र मासन माउन्टले समान २ गोल गर्दा काइ हाभेट्र्ज र मार्कोस ओलन्सोले पनि गोल गरे।