सङले जिताए कोरियालाई फुटबलमा स्वर्ण, पदकसँगै खेलाडीलाई सैन्य सेवाको वाध्यताबाट मुक्ति

इन्डोनेसियामा जारी एसियन गेम्सको फुटबल फाइनलमा जापानलाई २–१ पराजित गर्दै दक्षिण कोरियाले स्वर्ण पदक जितेको छ । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि एक्स्ट्रा टाइममा गोल गर्दै कोरियाले पदक जितेको थियो ।

कोरियाका दुवै गोलमा इपिएल क्लब टोटेनह्यामका स्टार खेलाडी सङ ह्युङ मिङको असिस्ट थियो । जापानले उत्कृष्ट डिफेन्सिभ फुटबल खेल्दै ९० मिनेट कोरियाका कैयौं गोलका प्रयास विफल बनाएको थियो । तर, एक्स्ट्रा टाइमको पाँचौ मिनेटमा सङको शानदार ड्रिब्लिङपछि उपलब्ध पासमा लि स्युङ–वुले गोल गरेपछि कोरियाले खेलमा अग्रता लिएको थियो ।

त्यसको ८ मिनेटपछि सङकै सटीक क्रसमा ह्वाङ ही–चाङले हेडिङमार्फत गोल गर्दै कारियाको अग्रता दोब्बर बनाए । तर, खेल सकिन ५ मिनेट बाँकी रहँदा जापानका आयासे उएडाले गोल गर्दै जापानलाई खेलमा फर्काए । खेलको अन्त्यतिर जापानले बराबरीका धेरै प्रयास गर्‍यो । तर, कोरियालि डिफेन्सका अगाडि जापानी फरवार्डको केही चलेन र अन्ततः कोरियाले खेल २–१ ले जित्यो । दक्षिण कोरियाले सन् १९८६ पछि पहिलोपटक एसियन गेम्समा स्वर्णपदक जितेको हो ।

वाध्यकारी सैन्य सेवाबाट छुटकारा
दक्षिण कोरियामा सबै सबल नागरिकले २१ महिना सैन्य तालिमसहित सैन्य सेवा गर्नुपर्ने वाध्यकारी नियम छ । उत्तर कोरियासँगको दुश्मनीका कारण यो नियम सबै नागरिकलाई अनिवार्य गरिएको छ । तर, एक्स्ट्रा टाइममा दुई गोलको मौका सिर्जना गर्दै सङले एसियन गेम्समा सहभागी फुटबल खेलाडीलाई सैन्य सेवाको वाध्यताबाट छुटकारा दिलाएका छन् ।

दक्षिण कोरियाले एसियन गेम्समा स्वर्ण जित्ने खेलाडी र ओलम्पिक्समा जुनसुकै अवार्ड जित्ने खेलाडीलाई सैन्य सेवाको वाध्यताबाट छुटकारा दिइने घोषण गरेको थियो । यदी, कोरिया फाइनलमा पराजित हुँदै रजत पदकमा सिमित भएको भए सङसहित सबै खेलाडीले आफ्नो सबैथोक छाडेर २१ महिना दक्षिण कोरियाली सेनामा भर्ति हुनुपर्ने थियो । तर, टोटेनह्याम स्टारले आफुलगायत प्रतियोगितामा सहभागी खेलाडीको उद्दार गरेका छन् ।