जुडो खेलाडी सोनियाले वाइल्ड कार्ड मार्फत् ओलम्पिक खेल्ने

जुडो खेलाडी सोनिया भट्टले वाइल्ड कार्ड मार्फत् टोकियो ओलम्पिक खेल्ने भएकी छिन् । सोनियाले ४८ केजीमुनिको प्रतिस्पर्धामा सहभागिता जनाउने छिन्।

दुई खेलाडी इन्द्रबहादुर श्रेष्ठ र सोनियाको लागि वाइल्ड कार्डको पहल गरे पनि सोनिायाले मात्र वाइल्ड कार्ड पाएको नेपाल ओलम्पिक कमिटीका सचिव एवं नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य जानकारी दिए ।

नेपाल पुलिसमा आवद्ध सोनिया १३ औं दक्षिण एसियाली खेलकुदकी कास्य पदक विजेता खेलाडी हुन् । सोनियाले सन् २०१९ मा बंगलादेशमा आयोजना भएको जुडो च्याम्पियनसिपमा क्याडेटतर्फ ४४ केजीमा स्वर्णपदक प्राप्त गरेकी थिइन् । २०१९ मै मोरक्कोमा आयोजना भएको वर्ल्ड जुनियर च्याम्पियनसिपमा एक बाउट जित निकाल्दै २०० अंक बटुल्न सफल भएकी थिइन्।

सोनिया ओलम्पिकमा सहभागिता जनाउने जुडोकी पाँचौ खेलाडी बनेकी छिन् । यसअघि १९८८ मा ऋषिराम प्रधान र गंगाबहादुर डंगोल, सन् २००८मा बेजिङमा भएको ओलम्पिकमा देवु थापा र रियो ओलम्पिकमा फुपुल्हामु खत्रीले सहभागिता जनाएका थिए।

यसका साथै अहिलेसम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल पाँच पुगेको छ । पौडी, एथलेटिक्स, सुटिङ, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएको हो ।

Facebook Comments Box