राष्ट्रिय फुटसल लिग : फुटसल फाइभलाई हराउँदै स्पोर्ट्स क्यासल प्लेअफमा, द राइजिङ क्लब विजयी

पोखरामा जारी पहिलो संस्करणको ए डिभिजन राष्ट्रिय फुटसल लिगमा पोखराको स्पोर्ट्स क्यासल र धरानको द राइजिङ क्लब विजयी भएका छन् । शनिबार भएको खेलमा शीर्ष स्थानको स्पोर्ट्स क्यासलले फुटसल फाइभ धरालाई ३–२ले हराउँदा राइजिङ क्लबले लुम्बिनी फुटसलाई ६–५ले हरायो।

स्पोर्ट्स क्यासलको जितमा सुरेन बुढा मगर, सुमित श्रेष्ठ र अन्जन देवकोटाले एक गोल गरे भने फुटसल फाइभका लागि दुवै गोल किरण चौधरीले गरेका थिए ।

तनावपूर्ण खेलमा फुटसल फाइभका धिरज तामाङ, सुजन खड्का, प्रशिक्षक विश्वास लामा र टिम म्यानेजर जीवन आले मगरले रेडकार्ड पाएका थिए । स्पोर्ट्स क्यासलका विश्वास पौडेल म्यान अफ दि म्याच चुनिए ।

लुम्बिनी फुटसलविरुद्ध द राइजिङलाई जित दिलाउन बिकु तामाङ, सुदिप गुरुङ, मिलन राई, दोर्जी तामाङ, रेवस मास्के र हेमन्त थापामगरले एक गोल गरे । यता, लुम्बिनीका हेमन्त गुरुङ, राफी महर्जन, सुजन थापा, रुपेन बराइली र देवासिस शर्माले गोल गरे ।

लिगमा अपराजित रहेको स्पोर्ट्स क्यासल ८ खेलमा २२ अंक जोड्दै शीर्ष स्थानमा छ । र, लिग चरणको १ खेल मात्र बाँकी रहेको अवस्थामा क्यासल प्लेअफमा पुगेको छ। लुम्बिनीविरुद्ध जित निकालेको द राइजिङ क्लब १६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। फुटसल फाइभ भने १४ अंकसहित चौथो स्थानमा छ ।

Facebook Comments Box