
सुदूरपश्चिम स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक
१९ चैत, काठमाडौं । सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८ को वर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डको वर्ष पुरुष खेलाडीको मनोनयनमा ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलका टेकेन्द्र थापा परेका छन् । त्यस्तै महिलातर्फ भलिबलकी सरस्वती चौधरी एथलेटिक्सकी राजपुरा पछाई र फुटबलकी उषा नाथ परेका छन् ।
पुरुषतर्फ मनोनयनमा परेका प्रिन्स जुनियर तर्फको विश्व बरियतामा १ नम्बरमा रहेका छन् । दीपेन्द्र अन्तराष्ट्रिय क्रिकेटमा शतक र अर्धशतकसहित टि–२०मा सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन् । नेपाली पुरुष फुटबलको टीममा परेका टिकेन्द्र थापाले पहिलो पटक नेपालका लागि अन्तराष्ट्रिय डेब्यु गरेका छन् ।
महिलातर्फ मनोनयनमा परेकी सरस्वतीले नेपाली महिला भलिबल टोलीले बंगलादेशमा सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्दा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् भने घरेलु प्रतियोगिताहरुमा सानदार प्रदर्शन गर्दै आएकी छिन् । उषा उमेर समूह हुँदै नेपाली महिला फुटबल टोलीमा स्थान बनाउन सफल भएकी छिन् ।
उनी राष्ट्रिय महिला लिगको उत्कृष्ट गोलरक्षक बनेकी थिइन् । एथलेटिक्सकी राजपुराले –भारतको नागाल्यान्डमा भएको साफ क्रस कन्ट्री दौडमा रजत पदक जितेकी थिइन् भने १५औं र १६औं संस्करणको पोखरा म्याराथनको उपाधि पनि जितेकी थिइन् ।
विभिन्न ८ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तीव्र रुपमा भइरहेको आयोजकले जनाएको छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५र२५ हजार नगदबाट पुरस्कृत गरिनेछ ।